काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को यो सिजनको अन्तिम खेललाई राजस्थान रोयल्सले सुखद् बनाएको छ । गएराति महेन्द्रसिंह धोनीको टोली चेनई सुपर किङ्सलाई ६ विकेटले पराजित गर्दै राजस्थानले आईपीएलकाे यो सिजनको सुखद् अन्त्य गरेको हो ।
हारसँगै आईपीएल २०२५ को अंक तालिकामा चेन्नई पुछारमै रहने सम्भावना बलियो भएको छ । मंगलबार भएको पुछारका दुई टोलीबीचको खेलमा राजस्थान रोयल्सले चेन्नईलाई ६ विकेटले हराएपछि यो सम्भावना देखिएको हो। चेन्नईले दिएको १८८ रनको लक्ष्य राजस्थानले १७ बल बाँकी रहँदा चार विकेटको क्षतिमा पुरा गरेको हो ।
राजस्थानका लागि वैभव सूर्यवंशीले सर्वाधिक ५७ रन प्रहार गरे । ३३ बलको सामना गरेका उनले समान चार चार चौका र छक्का प्रहार गरे । यसस्वी जयसवालले विस्फोटक सुरुवात गर्दै १९ बलमा ३६ रन जोडे । उनको पारीमा पाँच चौका र दुई छक्का समावेश थियो । कप्तान सञ्जु सामसनले ४१ रन प्रहार गरेको खेलमा राजस्थानका ध्रुव जुरेलले अविजित रहँदै १२ बलमा ३१ रन प्रहार गरे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले ८ विकेटको क्षतिमा १८७ रन जोडेको थियो। चेन्नईका आयुस माथ्रेले सर्वाधिक ४३ रन प्रहार गरे । २० बलको उनको पारीमा आठ चौका र एक छक्का समावेश थियो ।
अङ्क तालिकामा चेन्नई ६ अङ्कसहित पुछारमा छ । राजस्थान आठ अङ्कसहित नवौँ स्थानमा छ । चेन्नईको एक खेल बाँकी छ भने राजस्थानको खेल सकिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया