शैक्षिक संस्था आसपासमा सुर्तीजन्य पदार्थ र मदिरा बिक्रीमा रोक लगाउन  प्रेम सुवालकाे माग

291 Shares

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले शैक्षिक संस्था आसपासका क्षेत्रमा सुर्तीजन्य पदार्थ र मदिरा बेचबिखनमा रोक लगाउनुपर्ने बताएका छन् । 

मंगलबार आयोजित भक्तपुर नगरपालिकाका जनप्रतिनिधिको तीन वर्षे कार्यकालको उपलब्धि कार्यक्रममा उनले शैक्षिक संस्था आसपासका त्यस्ता पसल तत्काल सञ्चालनमा रोक लगाउनुपर्ने बताएका हुन् । 

नगरपालिकालाई आत्मनिर्भर बनाउनेतर्फ लाग्नुपर्ने औंल्याउँदै सांसद सुवालले विद्यालय शिक्षा राम्रो भए विश्वविद्यालय शिक्षा स्वतः राम्रो हुने बताए । भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले आर्थिक वर्ष २०८१/८२ मा नगरपालिकाले संविधान र कानुनले दिएको अधिकारभित्र रहेर विभिन्न विकास निर्माण र अतिरिक्त क्रियाकलाप बाहेक हरेक वर्ष नगरस्तरीय महत्त्वपूर्ण योजना सम्पन्न गर्दै आएको जानकारी दिए । 

उनले स्थानीय तह प्रजातन्त्रको जग भएको चर्चा गर्दै स्थानीय तह अधिकार सम्पन्न भए मात्र प्रजातन्त्र बलियो हुने विचार व्यक्त गरे। नगरपालिकाले भक्तपुरको शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा संरक्षण, विकास निर्माणलगायतलाई उच्च प्राथमिकतामा राखेको प्रमुख प्रजापतिको भनाइ छ । 

कार्यक्रममा भक्तपुर नपाकी उपप्रमुख रजनी जोशीले जनताको साथ र सहयोगबिना भक्तपुरको विकास सम्भव नभएको बताए । उनले जनतालाई निर्वाचना गरेको वाचाअनुसार घोषणापत्रलाई आधार बनाइ काम गर्दै आएको उल्लेख गरे । कार्यक्रममा नगरपालिकाले प्रवाह गर्दै आएको शिक्षा र स्वास्थ्य क्षेत्रको प्रगतिबारे प्रतिवेदन प्रस्तुत गरिएको थियो । मापदण्ड अनुसार भवन निर्माण गरी सम्पन्न प्रमाणपत्र लिएका वडाबासीलाई १४ लाख ७५ हजार १४४ बराबरको काठ, इँटा र झिँगटी अनुदान प्रदान गरेको जानकारी गराइयो । 

नगरपालिकामा कार्यरत उत्कृष्ट कर्मचारी र ३० वर्ष सेवा गर्ने कर्मचारीलाई कदरपत्र तथा दीर्घ सेवाबाट सम्मान गरिएको थियो ।रासस