गोपनियतासँग जोडिएका सूचनाहरु दिन जरुरी छैनः गृहमन्त्री

344 Shares

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले गोपनियतासँग जोडिएका सूचनाहरु दिन जरुरी नरहेको बताउनुभएको छ । 

मंगलबार राष्ट्रिय सूचना आयोगले आयोजना गरेको मन्त्रालयस्तरीय सूचना अधिकारीहरुसँग अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । उहाँले संविधानले नागरिकलाई सूचनाको हकको अधिकार दिएको तर मुलुकको शान्ति सुरक्षा, मुलुकको प्रतिरक्षा, वैदेशिक सम्बन्ध, कुटनीतिक सम्बन्ध लगायतका सूचनाहरु दिन जरुरी नरहेको स्पष्ट पार्नुभयो । 

उहाँले यी सूचनाहरु मुलुकको प्रतिरक्षासँग जोडिएकाले पारदर्शिता, सुशासनको नाममा सबै सूचना दिँदा मुलुक थितिमा बस्न नसक्ने जिकिर गर्नुभयो । यसले मुलुकलाई अराजकतामा लैजाने बताउँदै उहाँले संविधानको व्यवस्थालाई सन्तुलित, विस्तारित र समग्रतामा बुझ्न जरुरी रहेको उल्लेख गर्नुभयो । 

गृहमन्त्री लेखकले सूचना नलुकाइकन दिन पनि आग्रह गर्नुभयो । सूचना लुकाउनुपर्ने भए गोपनियताको यस कारण दिन सकिएन भन्ने कुरा लेखेर दिन आग्रह गर्नुभयो ।