सरकारले गणतन्त्र दिवस तीन दिनसम्म मनाउने, प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन

343 Shares

काठमाडाैं । सरकारले गणतन्त्र दिवस तीन दिन मनाउने भएको छ । सोमबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस मुल समारोह समितिको बैठकमा यसबारेमा जानकारी गराइएको हो । सरकारले जेठ १४, १५ र १६ गते गरी तीन दिन गणतन्त्र दिवस मनाउने गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले बताउनु भयो । 

उहाँका अनुसार गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । समितिमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्रीहरु, काठमाडौं महानगरपालिकामा प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरु रहेका छन् । 

यस्तै नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, काठमाडौं उपत्यकाका नगरपालिकाका प्रमुखहरु सदस्य र गृह मन्त्रालयका सचिव सदस्यसचिव रहनुहुनेछ । 

बैठकले जेठ १५ गतेको उक्त दिवसका लागि जेठ १४, १५ र १६ गते हरेक दिन साँझ सबै सार्वजनिक निकायमा दीप प्रज्वलनसहित त्रिदिवसीयरुपमा मनाउन केन्द्र, प्रदेश र स्थानीय तहका तीन तहकै सरकार र सम्बन्धित निकाय र निजी क्षेत्र र संघ–संस्थालाई समेटेर तहगत समिति र उपसमितिहरु गठन गरिएको छ । 

यस्तै विदेशस्थित नेपाली राजदूतावास, कुटनीतिक नियोग तथा वाणिज्य दुतावासमा पनि कार्यक्रम तय गरिएको छ । जेठ १५ गतेको मुख्य कार्यक्रम सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम हुनेछ । 

गृहसचिव दुवाडीका अनुसार गणतन्त्र दिवसको अवसरमा जेठ १४ गते संघीय सरकार र केन्द्रिय स्तरका कार्यक्रमहरु र प्रदेश तथा स्थानीय स्तरका कार्यक्रमहरु हुनेछ । जेठ १४ गते गणतन्त्र दिवस केन्द्रित विशेष संवाद, परिसंवाद, रेडियो नाटक लगायतका जनचेतनामुलक कार्यक्रम हुनेछन् । राष्ट्रियस्तरका छापा र सञ्चारमाध्यमलाई गणतन्त्र दिवसको अवसरमा विशेषाङ्क स्मारिका प्रकाशन गर्नुका साथै गणतन्त्रको बहुपक्षीय आवाज उजागर गर्ने विभिन्न लेख, रचनाहरुको संगालो प्रकाशन गर्न अनुरोध गर्ने कार्यक्रम रहेको छ । 

दरबार स्क्वायर, मण्डला लगायतका स्थानमा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ । जेठ १५ गते सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले बिगुलसँगै रिभ्याली बजाउने, तोप र बन्दुकको बढाईं गर्ने कार्यक्रम छ । मुल समारोह समितिको कार्यक्रम सैनिक मञ्च टुँडिखेलमा गर्ने कार्यक्रम छ । त्यस्तै १६ गते सरकारी निकायका घरका छत, बरण्डाहरुमा राष्ट्रिय झण्डा मर्यादापूर्वक राखि सजाउने र दीप प्रज्वलन गर्ने कार्यक्रम तय भएको छ ।