हुम्लाको लिमीस्थित तील गाउँ हिमपहिरोको उच्च जोखिममा, हिमताल फुटेकाे आशंका

389 Shares

हुम्ला । हुम्लाको लिमी उपत्यकाको तील गाउँ हिम पहिरोको उच्च जोखिममा परेको छ ।

बुधबार रातिको बाढीको कारण खोज्दै माथिल्लो तटिय क्षेत्रमा पुगेका सुरक्षाकर्मीसहितको स्थानीयको टोलीले सिरानमा रहेका दुई हिम पोखरी फुटेको आशंका गरेका हुन् । ४ दिनसम्म केन्द्र  र स्थानीय सरकारले बाढीको कारण पत्ता लगाउन चासो नदिएपछि नाम्खा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष पाल्चोर तामाङ केही स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा थाक्रा पुग्नुभएको हो । अध्यक्षसहितको टोली पहिरोको कारण खोज्दै ८ घण्टा पैदल दूरी पार गर्दै ५ हजार ३ सय मिटरको उचाईमा रहेको थाक्रा पुगेको हो । हिल्सास्थित सिमा सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका १० जनासहित स्थानीय थाक्रा पुगेका हुन् । लिमीमा कुनै पनि सुरक्षा निकायको उपस्थिति छैन । उनीहरु दक्ष प्राविधिक टोली र उपकरण बिना नै उच्च स्थानमा पुगेका हुन् ।

पहिरोका कारण गाउँ पुग्ने सबै संरचना तहस नहस भएको छ । गाउँलाई बाढीले तीनतिरबाट कटान गरिरहेको छ ।  १९ घर परिवारका ३३ जना बसोबास गर्दै आएको तील गाउँमा बुधबार राति लेदोसहितको बाढी आएको थियो । पहिरोले  हाल्जी र हिल्सातर्फको बाटो र पुल भत्काएको छ । सेखाङलुङबा खोलामा आएको बाढीले बस्तीतर्फ र तिल्जुङ्गखोलामा आएको बाढीले विद्युतीय पावरहाउस भत्काउनुको साथै हिल्सा जाने बाटो भत्काएको हो । त्यस वरपरको अन्य संरचना पनि भत्काएको छ । पहिरोले बाटो भत्काएर पोखरी जस्तो दह बनाएको वडा नम्बर ६ का पाल्जोर तामाङ्गले जानकारी दिनुभयो ।

1747571213-obdrE.jpg

वडानम्बर ६ स्थित थाक्रामा रहेका दुईवटा चर्किएको जस्तो देखिने तालको संरचना देखाउँदै तील गाउँका स्थानीयवासी कुञ्जोक फुर्बु लामा भन्नुहुन्छ, ‘हामी ५ जनामाथि यो तालसम्म आएका छौँ । घटनास्थल तील गाउँबाट यहाँ आइपुग्न ८ घण्टा लाग्यो । अहिले हामी ५ हजार ३ सय मिटर उचाईमा छौँ । यहाँ दुईवटा हिमताल रहेछन् । माथि बरफ (हिउँ)को तल पानी रहेछ । त्यो पानी जमिन मुनिबाट निस्केर तल गएको देखियो । त्यही पानीले घटना गराएको रहेछ भन्ने हामीलाई लागेको छ ।’

1747571214-86Gc4.jpg

हुम्लाको नाम्खा गाउँपालिकाभित्र लिमि उपत्यकाभित्र पर्ने तील गाउँ सबैभन्दा विकट गाउँ हो । यो गाउँमा समय समयमा यसअघि पनि हिउँ पहिरो आउने गरेको थियो । मनसुन पूर्वको यो बाढी र कटानले गाउँ नै बगेर जाने जोखिम देखिएको छ ।