काभ्रेपलाञ्चोक । काभ्रेको धुलिखेलमा विद्युत्को पोलमा करेन्ट लागेर मृत्यु भएका सर्लाही ईश्वरपुर नगरपालिकाका उपेश परियारको परिवारलाई १० लाख क्षतिपूर्ति उपलब्ध गराइने भएको छ।
विद्युत् लाइन मर्मतको जिम्मा पाएको सुदिपा निर्माण सेवाका प्रोपाइटर दिपकप्रसाद धिताल र उपेशकी श्रीमती रश्मिला परियारबीच आइतबार सहमति भएको हो ।
जस अनुसार, परिवारका सदस्यको नाममा संयुक्त खाता खोलेर ७ दिनभित्र १० लाख रकम उपलब्ध गराउन निर्माण सेवाका प्रोपाइटर धिताल मञ्जुर भएका छन् । त्यस्तै, मृतकका परिवारलाई पालनपोषण र छोराछोरीलाई शिक्षाका लागि क्षतिपूर्ति उपलब्ध गराइने सहमतिपत्रमा उल्लेख छ ।
त्यस्तै, विद्युत् प्राधिकरणको काभ्रे वितरण केन्द्रले विद्युत् दुर्घटना क्षतिपूर्ति विनियमावली अनुसार अधिकतम १० र न्युनतम ५ लाख रुपैयाँसम्म उपलब्ध गराइने भएकाे छ । यसका लागि कार्यकारी प्रमुख अमृतबाबु अधिकारीले पहल गर्ने सहमति पनि भएको छ ।
त्यस्तै, उपेशकी श्रीमतीलाई रश्मिलालाई घर पायक पर्ने स्थानमा योग्यताअनुसार रोजगारी उपलब्ध गराउने पनि सहमति भएको छ । उनलाई विद्युत् प्राधिकरणकै केन्द्रमा रोजगारी उपलब्ध गराउने सहमति छ ।
उपेशको शनिबार बिहान ११ हजार भोल्टको हाइटेन्सन लाइनको पोलमा चढेर काम गरिरहेको अवस्थामा अचानक करेन्ट लागेर मृत्यु भएको थियो । तार जोड्न पोलमा चढेका परियारको विद्युत प्राधिकरणले सूचनाबिनै लाइन छाड्दा करेन्ट लागेर मृत्यु भएको आरोप छ । उनलाई विद्युत प्राधिकरणले ठेक्कामा लिएर काममा लगाएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया