मागअनुसारको बजेट नपाए अर्थमन्त्रीले ठूलो मूल्य चुकाउनुपर्छः काँग्रेस सांसद तामाङ

311 Shares

काठमाडौं ।  नेपाली काँग्रेसका सांसद पूर्णबहादुर तामाङले आगामी आर्थिक वर्षको बजेटमा आफूहरुले माग गरेको बजेट नपाए अर्थमन्त्रीले ठूलो मूल्य चुकाउनुपर्ने बताउनुभएको छ । 

शनिबार नयाँ बानेश्वरमा बसेको काँग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै त्यस्तो बताउनुभएको हो । आफूहरुले सात वटा जिल्लाका सांसदहरुका लागि तीन/तीन करोडको दरले २१ करोड बजेट माग गरिएको जानकारी दिनुभयो । यदि आफूहरुको मागबमोजिमको बजेट विनियोजन नभए संसदमा प्रतिनिधित्व गर्ने सबै सांसदको लिष्ट तयार गरेर छानविनका लागि समिति बनाउन बाध्य हुने उहाँको भनाइ थियो । उहाँले बैठकमा देशका लागि कसरी राम्रो काम गर्न सकिन्छ भन्नेतर्फ पार्टी सभापतिको ध्यानाकर्षण गराएको जानकारीसमेत दिनुभयो । 

नेपाली काँग्रेसका सांसद हृदयराम थानीले विकास निर्माणमा अब्जेक्सन ल्याउने काम नगर्न सांसदहरुले नेतृत्वलाई सुझाव दिएको बताउनु भयो । शनिबार बसेको संसदीय दलको बैठकमा उहाँले बजेट निर्माणमा पक्षपात नगर्न र सतहत्तर वटै जिल्लामा समानरुपमा विकासका कार्यक्रम लैजान सुझाव दिइएको जानकारी दिनुभयो । 

उहाँले विगतमा बजेट निर्माण गर्दा पक्षपात हुने गरेको भएपनि नेतृत्वबाट यसपटक त्यसो नहुने अपेक्षा गरिएको जानकारी दिनुभयो ।