मण्डनदेउपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा

554 Shares

कुन्तावेँसी । काभ्रेकाे मण्डनदेउपुर नगरपालिकालाई यो आर्थिक वर्षका लागि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । 

शुक्रबार नगरप्रमुख एवं नगरस्तरीय खोप समितिका संयोजक टोकबहादुर वाईबाको अध्यक्षता तथा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख एवं जिल्ला खोप समन्वय समितिका संयोजक दिपककुमार गौतमको प्रमुख आतिथ्यताामा एक कार्यक्रमको आयोजना गरी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । 

मण्डन खोप (1).jpg

नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने पालिका मध्ये जिल्लामै तेस्रो नम्बरमा पर्न सफल भएको छ । यस कार्यमा सक्रिय भएर खट्नु हुने सबैलाई हार्दिक धन्यवाद दिँदै प्रमुख अतिथि गाैतमले यसलाई निरन्तरता दिने गरि काम गर्न सबैलाई अनुराेध गर्नुभयाे । केही पनि भएन भन्दै गलत प्रचार गर्ने बानी बढ्दै गएकाे अवस्थामा राम्रा काम गरेर नागरिकलाई सेवा सुविधा दिनु पर्नेमा उहाँकाे जाेड छ । 

मण्डन खोप (3).jpg

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख रागीश्री कक्षपतीले मण्डनदेउपुर जिल्लाका नगरपालिकामा दाेस्राे र समग्र पालिकामा तेस्राे पूर्णखाेप पालिका भएकाे र अबका केही महिनामा सबै पालिकालाई यस अभियानमा संलग्न गराइने बताउनुभयाे ।  

मण्डन खोप (5).jpg

कार्यक्रममा नगरप्रमुख वाइबा, उपप्रमुख विष्णुमणि नेपाललगायत जनप्रतिनिधिहरुले हरेक बालबालिकाकाे खाेप पाउने अधिकारलाई सुनिष्चित हुने गरि काम गर्ने प्रतिबद्धता जनाउनुभयाे । हाल नगरपालिकामा घर सर्भेक्षण गर्दा १५ महिना मुनीका बालबालिका ३५२ जना, पूर्णखाेप प्राप्त १६ देखि २३ महिनासम्मका २३६ र २४ देखि ५९ महिनासम्मका १ हजार १०७ जना बालबालिका रहेकाे नगरपालिका स्वास्थ्य शाखा सहसंयाेजक ईश्वरी सापकाेटा गाैतमले जानकारी दिनुभयाे । कार्यक्रममा स्वास्थ्य क्षेत्रमा काम गर्ने सबै वडाका कर्मचारीलाई सम्मान पनि गरिएकाे नगरपालिका स्वास्थ्य शाखा संयाेजक दिपक घिमिरेले बताउनु भयाे ।