प्रतिनिधिसभाका तीन जना सांसद निलम्बनमा, एक जना फरार

387 Shares

काठमाडौँ । हालसम्म चालु प्रतिनिधिसभाका तीन जना सांसद निलम्बनमा परेका छन् भने एक फरार छन् ।  

पछिल्लो पटक बिहीबार नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेत निलम्बित भएसँगै  प्रतिनिधिसभाका तीन सांसद निलम्बनमा परेका हुन् । 

नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिद प्रकरणमा ३ अर्ब २१ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा अख्तियारले बस्नेतसहित १६ जनाविरुद्ध मुद्दा दायर गरेसँगै बस्नेतको पद निलम्बनमा परेकाे हाे । बस्नेत सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । 

यसअघि सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध मुद्दा दर्ता भएपछि उनी पनि निलम्बनमा परेका थिए । उच्च अदालत बुटवलको आदेशमा लामिछाने अहिले थुनामा छन् । लामिछाने चितवन ३ बाट निर्वाचित सांसद हुन् ।

उता भुटानी शरणार्थी प्रकरणमा थुनामा पुगेका एमाले सांसद टोपबहादुर रायमाझीको सांसद पद पनि निलम्बन छ । रायमाझी अर्घाखाँचीबाट निर्वाचित सांसद हुन् । भ्रष्टाचार मुद्दा दर्ता गर्नासाथ सांसद पद निलम्बन हुने कानुनी व्यवस्था छ । 

यस्तै सहकारीको बचत अनियमितताको आरोप लागेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद गीता बस्नेत एक वर्षदेखि फरार छिन् ।

बस्नेतविरुद्ध १४ वैशाख २०८१ मा पक्राउ पुर्जी जारी भएको थियो । नवलपुरको कावासोतीस्थित छिपछिपे उपभोक्ता सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ पुर्जी जारी भएपछि उनी फरार भएकी हुन् । 

छिपछिपे सहकारीबाट १६ करोड ५८ लाख हिनामिनाको विषयमा अनुसन्धान हुँदा सांसद बस्नेत सञ्चालक रहेको बर्दियास्थित कृष्णसार रिसोर्टमा ९६ लाख ऋण लगानी भएको खुलेको थियो।