काठमाडाैं । संसदको आगामी हिउँदे अधिवेशन नयाँ भवनबाट सञ्चालन हुने परिस्थिती निर्माण गर्न सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ।
बिहीबार सिंहदरबारमा निर्माणाधीन सङ्घीय संसद भवनको हालसम्मको प्रगति सम्बन्धमा छलफल गर्न बसेको सङ्घीय संसद्अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो । समिति सभापति ठाकुरप्रसाद गैरेले आगामी हिउँदे अधिवेशनमा प्रतिनिधिसभा र राष्ट्रिय सभा नयाँ संसद भवनमा सञ्चालन होस् भन्ने आफूहरूको स्पीरिट रहेको बताउनु भयो ।
उहाँले सम्झौताअनुसार फिल्डमा कार्यरत रहनुपर्ने मेसिनरी, मेट्रियल र म्यानपावरको दैनिक अनुगमन गर्न, सामग्री तथा गुणस्तरको निरन्तर अनुगमन र त्यसमा देखिएको कमीकमजोरीको तत्काल सुधार गर्नुपर्ने निर्देशन दिन सरकारलाई निर्देशन दिनुभयो । उहाँले प्रविधि जडान र इन्टेरियर कार्यको सचिवालयका सम्बन्धित अधिकारीहरूसँग निरन्तर समन्वय र तोकिएको समयमा काम हुने गरी त्यसको अनुगमन गर्न समेत सरकारलाई आग्रह गर्नुभयो । सभापति गैरेले हरेक महिना कार्य प्रगतिको अन्तिम मूल्याङ्कन र निष्कर्षसहितको १५–१५ दिनको रिपोर्ट तयार गरी समितिलाई समेत पठाउनुपर्ने बताउनु भयो ।
तोकिएको समयमा नयाँ संसद् भवन निर्माण नभएकोप्रति असन्तुष्टि व्यक्त गर्दै नयाँ थप गरिएको म्यादमा पनि संसद भवन निर्माण हुनेमा उहाँले शङ्का व्यक्त गर्नुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया