काठमाडौँ । निर्वाचन आयोगले गत चैत मसान्तसम्म १८ वर्ष उमेर पूरा गरेका नागरिकहरूको विवरण अद्यावधिक गरी अन्तिम मतदाता नामावली प्रकाशित गरेको छ ।
जसअनुसार महिला मतदाता ८९ लाख १० हजार आठ सय ९६ र पुरुष मतदाता ९२ लाख ३७ हजार पाँच सय ७२ तथा अन्य मतदाता एक सय ८६ गरी एक करोड ८१ लाख ४८ हजार ६ सय ५४ मतदाता अन्तिम नामावलीमा समावेश रहेको आयोगले जनाएको छ ।
यसअघि गएको कात्तिक २६ मा प्रकाशित मतदाता नामावली अनुसार महिला मतदाता ८९ लाख ३ हजार एक सय ९७, पुरुष मतदाता ९२ लाख २५ हजार चार सय ४८ र अन्य मतदाता एक सय ८७ गरी जम्मा एक करोड ८१ लाख २८ हजार आठ सय ३२ मतदाता थिए ।

विगतमा प्रकाशित मतदाता नामावलीभन्दा अहिले प्रकाशित मतदाता नामावलीमा महिला मतदाता ७ हजार ६सय ९९ र पुरुष मतदाता १२ हजार एक सय २४ गरी जम्मा १९ हजार आठ सय २२ जना मतदाता थप भएको आयोगले जनाएको छ ।
आफ्नो मतदाता नामावली आयोगको वेवसाइट www.election.gov.np मा हेर्न सकिनेछ । साथै मतदाता नामावलीमा नाम नभएका र नागरिकता प्राप्त गरेका व्यक्तिले मतदाता नामावलीमा नयाँ नाम दर्ता गर्ने तथा मतदाता नामावलीमा नाम भएका मतदाताले आफ्नो विवरण अद्यावधिक गर्नुपर्ने भएमा अनलाइन तथा सम्बन्धित निर्वाचन कार्यालयमार्फत निरन्तररूपमा गर्न सकिनेसमेत आयोगले जानकारी दिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया