देश दुर्घटनाको छेउमा पुगेको छ, कसैले रोक्न सक्दैनः वामदेव गौतम

372 Shares

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले वर्तमान व्यवस्था ल्याउने प्रमुख शक्तिहरु नेपाली काँग्रेस र कम्युनिष्ट पार्टीहरु मिलेर देशलाई तत्काल समाजवाद घोषणा गर्नुपर्ने बताउनुभएको छ। 

राष्ट्रिय सभाको बुधबारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले दश वर्षअघि निर्माण र लागू भएको संविधानले देशलाई समाजवादमा लैजाने भने पनि दलहरुले केही पनि गर्न नसकेको बताउनु भयो । उहाँले दल तथा सरकारले संविधानको भावना र मर्मलाई आत्मसाथ गर्ने गरी काम गर्न नसक्दा जनतामा निराशा आएको बताउनु भयो । 

नेपालको कुनै पनि सार्वजनिक स्थानमा जाँदा जनताहरु नेता तथा व्यवस्थाको विरुद्धमा रहेको जिकिर गर्नुभयो । समाजमा व्यवस्था विरोधी शक्तिले गति लिइरहेको बताउँदै उहाँले दलहरुले समयमै सचेत भएर जनगुनासो सम्बोधन गर्न नसके अर्को व्यवस्था आउन सक्नेतर्फ सचेत हुनुपर्ने बताउनु भयो । 

देश ठूलो दुर्घटनाको छेउमा पुगिसकेको र परिवर्तनको सिद्धान्त अनुसार पनि कसैले रोक्न नसक्ने उहाँको भनाइ छ । राष्ट्रिय सभा सदस्य गौतमले आफूले चार वर्ष लगाएर समाजवादको खाका तयार पारेको तर कुनैपनि नेताहरुले त्यसबारेमा अध्ययन नगरेको गुनासो गर्नुभयो ।