काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले छोराछोरीहरूलाई मुलुकमै सपना देखाउन नसके राजनीति गरेको अर्थ नहुने बताउनुभएको छ।
बुधबार काठमाडौंमा आयोजित सङ्घीयताको कसीमा आर्थिक वर्ष २०८२/०८३ को बजेट छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले युवाहरूलाई स्वदेशमा टिकाउन गाह्रो भएको बताउँदै आफ्नै छोराछोरीलाई सपना देखाउन नसके राजनीति गरेको र मन्त्री भएको औचित्य नहुने जिकिर गर्नुभयो । उहाँले नेपाललाई साँच्चिकै माया गर्ने, स्वाधीनताको रक्षा गर्ने र सबैको साझा देश बनाउने हो भने यसको औचित्य, महत्व र गरीमा बुझाउनुपर्ने धारणा राख्नुभयो ।
नेपालभन्दा कमजोर देशहरूले विकास र प्रगति गरेको बताउँदै नेपाल पनि सबल बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले युवाहरूलाई स्वदेशमै सपना देखाएर त्यसलाई विपनामा परिणत गर्ने सङ्कल्प गर्नुपर्ने जिकिर गर्नुभयो । उहाँले सङ्घीयता लोकतन्त्रको अभिन्न अङ्ग रहेको बताउँदै सङ्घीयतालाई जति बलियो बन्यो, लोकतन्त्र पनि त्यति नै बलियो बन्दै देश समृद्ध बन्ने बताउनु भयो ।
उहाँले सङ्घीयता र समावेशिता लोकतन्त्रका लागि उत्तिकै महत्वपूर्ण पाटो रहेकोसमेत जिकिर गर्नुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया