काठमाडाैं । प्लानिङ ब्वाइज युनाइटेड दुई खेल बाँकी छँदा नै नेपाली घरेलु फुटबलको शीर्ष डिभिजन लिगमा उक्लिएको छ ।
जारी शहीद स्मारक ‘बी’ डिभिजन लिगमा प्लानिङले मंगलबार बाँसबारी क्लवमाथि २–० को जित निकाल्यो । यो जितसँगै लिगमा कम्तीमा शीर्ष दुई स्थान पक्का गर्दै प्लानिङले शीर्ष डिभिजनको यात्रा पक्का गरेको हो । अब प्लानिङले लिगमा दुई खेल्न बाँकी छ । यी दुवै खेलमा हार व्यहोरे पनि प्लानिङ शीर्ष दुईमा नै रहने पक्का छ ।
सन् २०१२ देखि नेपालको घरेलु लिग खेल्ने थालेको प्लानिङले १३ वर्षमा नै शीर्ष डिभिजनको यात्रा तय गरेको हो । प्लानिङले सन् २०१२ पहिलोपल्ट ‘डी’ क्वालिफाइङ खेलेको थियो । सोही वर्ष नै ‘सी’ डिभिजन लिगका लागि छनोट पनि भयो । प्लानिङले ‘सी’ डिभिजन लिग पार गर्न लामो समयसम्म प्रयास गर्यो । तर २०७९ सालमा मात्र सफल भयो ।
२०७९ सालको ‘सी’ डिभिजन लिगमा प्लानिङ उपविजेता बन्दै ‘बी’ मा उक्लिएको हो । त्यसपछि लामो समय लिग हुन सकेन । ‘बी’ डिभिजन खेलेको पहिलो प्रयासमा नै प्लानिङ शीर्ष डिभिजनमा पुग्न सफल भएको हो । प्लानिङ ब्वाइजका अध्यक्ष दावा लामाले क्लवका पदाधिकारी, प्रायोजक र समर्थकको मायाले दशकपछि शीर्ष डिभिजन पुग्दा खुशी लागेको बताए । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा प्लानिङको जितमा पूजन थापाले एक गोल गरे । एक गोल आत्मघाती भएको हो । प्लानिङले ११ खेलबाट २७ अंक जोड्यो । पराजित बाँसबारी ११ खेलबाट १५ अंकका साथ सातौं स्थानमा झरेको छ ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमै सकियो । दोस्रो हाफको सुरुमा नै प्लानिङ ब्वाइजले गोल गर्यो । खेलको ४७औं मिनेटमा सन्दीप राउतबाट आत्मघाती गोल हुने पुग्दा प्लानिङ ब्वाइजले अग्रता लिएको थियो । पुजनले ८१ औं मिनेटमा गोल गर्दै प्लानिङ ब्वाइजको अग्रता २–० ले पुर्याए । त्यसपछि बाँकी समयमा गोल हुन सकेन र प्लानिङ ब्वाइजले जित निकाल्दै शहीद स्मारक ‘ए’ डिभिजन लिगको यात्रा तय गर्यो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया