काभ्रेपलाञ्चोक । नेपाल रेडक्रस साेसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखा अन्तर्गत बनेपा , चण्डेश्वरी र चाैतारी उपशाखाकाे संयुक्त आयाेजना तथा जिल्ला शाखाकाे सहकार्यमा बनेपाकाे चण्डेश्वरी जात्राकाे अवसरमा निःशुल्क प्राथमिक उपचार शिविर संचालन गरिएकाे छ ।

तीन दिन चलेकाे जात्रामा साेमबार र मंगलबार गरि दुई दिन रेडक्रसले प्राथमिक उपचार शिविर संचालन गरेकाे हाे । जसमा २०० जनाभन्दा बढीलाई सेवा पुर्याइएकाे थियाे । साथै एक हजार थान मास्क वितरण गरिएको नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा काभ्रेका प्रशासन सहायक गाेमा हुमागाईंले जानकारी दिनुभयाे ।

उहाँका अनुसार कुनै पनि घटनास्थलमा चिकित्सकको आगमनअघि सामान्य उपकरण तथा सामाग्रीको प्रयोग गरी गरिने बिरामीको उपचारलाई प्राथमिक उपचार भनिन्छ । दुर्घटनामा परी घाइते भएका मानिसको अवस्था अझै नबिग्रियोस भनेर घाइतेलाई चिकित्सकको पहुँचमा पुग्नु अघि दिइने सामान्य उपचार प्राथमिक उपचार हो । यस जात्रामा पनि भिडभाड धेरै हुने अवस्थालाई ध्यानमा राख्दै प्राथमिक उपचार शिविर संचालन गरिएकाे उहाँले बताउनुभयाे ।

शिविरका लागि शिर मेमाेरियल अस्पताल बनेपा र नेपाल परिवार नियाेजन संघ काभ्रेकाे प्राविधिक सहयाेग रहेकाे थियाे । यस शिविरमा प्राथमिक उपचारभित्र पर्ने सबै प्रकारका सेवाहरु प्रदान गरिएकाे थियाे । जसमा घाउकाे प्राथमिक उपचार, ब्लडप्रेसर जाँच, दुखाईमा लगाउने मुभ, घाउमा पट्टी बाँध्नेलगायतका सेवाहरु रहेका छन् । बेलाबेलामा रेडक्रसले यस्ताे सहयाेग गरिरहेकाे छ । आगामी दिनमा पनि सहयाेग जारी रहने रेडक्रसले जनाएकाे छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया