केही भएन भनेर भ्रम फिँजाउनेहरु नेपाल बिरोधी वर्ग हुन्ः मन्त्री खड्का

330 Shares

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालमा केही भएन भनेर भ्रम फिँजाउनेहरु  नेपाल बिरोधी वर्ग भएको बताउनुभएको छ । 

सोमबार सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा २०७८ असार १ गतेको बाढीले पुर्याएको क्षेत्रको स्थलगत अनुगमन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेपालमा केही पनि भएन भनेर नकारात्मक भाष्य फिँजाउन एउटा वर्ग नै लागेको उहाँको भनाइ छ । मन्त्री खड्काले देश आफैँले बनाउने भन्दै सकारात्मक सोचका साथ काम गर्नुपर्ने बताउनु भयो । 

नेपालमा केही पनि भएन भनेर नेपालको अर्थतन्त्र बिगार्न लागिपरेका तत्वहरुप्रति सजग रहन आग्रह समेत गर्नुभयो । उहाँले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले पुर्याएको क्षति नोक्शानीप्रति सरकार गम्भीर रहेको पनि बताउनु भयो । 

उहाँले २०७८ असार १ गतेको बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा पुर्याएको क्षतिको पुनर्निर्माणमा सरकार प्रतिबद्ध रहेको बताउनु भयो । इन्द्रावती गाउँपालिकास्थित भीमटारमा रहेको २२ वटा टारमा इन्द्रावती नदीको पानी ल्याएर सिंचाईका लागि  विस्तृत परियोजना अघि बढाइएको जिकिर गर्नुभयो । उक्त २२ वटा टारलाई सिंचाईको व्यवस्था मिलाएपछि सम्पूर्ण जिल्लाको लागि खाद्यान्नको लागि अन्त धाउनु नपर्ने विश्वास व्यक्त गर्नुभयो । 

सिन्धुपाल्चोकको कारणले काठमाडौंवासीले पानी पाएको भन्दै सरकारसँग दाबी गर्ने अधिकारसमेत नरहेकाे धारणा राख्नुभयो । उहाँले प्राकृतिक प्रकोपको जोखिमहरू भइरहने हुनाले खोला किनारमा अझै पनि ध्यान दिनुपर्ने जिकिर गर्नुभयो ।