काठमाडाैं । सोमबार देशका विभिन्न स्थानमा भारी वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काभ्रे, गुल्मी, स्याङ्जा, लगायतका केही क्षेत्रमा सोमबार भारी वर्षा भएको हो ।
गुल्मीमा सोमबार ५६.४ मिलीमिटर वर्षा भएको छ भने स्याङ्जामा ५३ मिलीमिटर वर्षा भएको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिएका छन्।
काभ्रेमा हिजो ६ घण्टामै ४३ मिलीमिटर वर्षा भएको छ । एक्कासी भएको ठूलो वर्षाले काभ्रेमा धनजनकोसमेत क्षति गरेको पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले जानकारी दिएका छन् ।
बाढीले बगाउँदा पनौती नगरपालिका ५ की २८ वर्षीया रेनुका गिरी वेपत्ता भएकी छिन्। बाढीले पनौती नगरपालिका ३, ५, ६, ४, ७, ८, ९, १० मा ठूलो क्षति भएको छ।
गएको असोज १२ गते आएको बाढीले क्षतविक्षत पारेका र अस्थायीरुपमा निर्माण गरिएका खानेपानीका पाइप र सडकहरु सोमबार रोशी खोलामा आएको बाढीले बगाएको छ।
बाढी आउनेगरि एक्कासी ठूलो वर्षा भए पनि सोमबार साँझदेखि भने पनौती क्षेत्रमा वर्षा रोकिएको छ। यससँगै विपी राजमार्गका विभिन्न भागमा पहिराेले अबरुद्ध गरेकाे छ । अस्थायी कल्भर्ट पनि बगाउँदा यातायात पनि ठप्प भएकाले वैकल्पिक मार्ग अपनाउन प्रहरीले अनुराेध गरेकाे छ ।
त्यसैगरि साेमबार बागमती, लुम्बिनी र कर्णाली प्रेदेशका केही पहाडी भूभागमा वर्षा भएको मौसमविद्ले बताएका छन्। आज पनि वर्षाकाे सम्भावना छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया