काठमाडाैं । पहलगाम आक्रमणपछि युद्धकै अवस्थामा पुगेका भारत र पाकिस्तानबीच सोमबार वार्ता हुने भएकाे छ ।
आज बिहान दुई देशका सैन्य उच्चाधिकारीसहित वार्ता तय भएको थियो । तर समय केही परिवर्तन गरी आज साँझ वार्ता हुने भएको छ । वार्ताको नेतृत्व भारतका सैन्य अपरेसन महानिर्देशक र पाकिस्तानका सैन्य अपरेसन महानिर्देशकले गर्नेछन् ।
यसअघि शनिबार भएको कुराकानीमा पाकिस्तानी सैन्य महानिर्देशकले शत्रुता बन्द गर्ने प्रश्ताव अघि सारेका थिए । यसपछि दुवै देशले शनिबार साँझदेखि सीमापार गोलाबारी तथा ड्रोन घुसपैठ नगर्ने सहमति गरेका थिए । तर उक्त सहमति गरेको केही घण्टामै पाकिस्तानले नियन्त्रण रेखा (एलओसी) मा गोलाबारी तथा हवाई घुसपैठ गरेको भारतको आरोप छ।
भारतीय सेनाका लेफ्टिनेन्ट जनरल राजीव घईले आइतबार संयुक्त पत्रकार सम्मेलनमा भन्नुभयो, ‘पाकिस्तानी उल्लङ्घनको कडा जवाफ दिइएको छ। यदि यस्ता गतिविधि दोहोरिए भने अझ कडा कारबाही हुनेछ ।’ सम्झौता उल्लङ्घनबारे पाकिस्तानी सेनालाई हटलाइन सन्देशमार्फत जानकारी गराइएको उनको भनाइ छ ।
भारतले हालै जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणको प्रतिकारस्वरूप मे ७ देखि ‘अपरेशन सिन्दूर’ सञ्चालन गरेको थियो । उक्त अपरेशन अन्तर्गत पाकिस्तान र पाकिस्तान–नियन्त्रित कश्मीरमा रहेका ९ वटा आतंकवादी केन्द्रहरूमा प्रहार गरिएको थियो । आक्रमणमा परि २६ जनाको मृत्यु भएको थियो । एएनआई
फेसबुकबाट तपाईको प्रतिक्रिया