काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिले निजामति विधेयकलाई समितिको आगामी बैठकबाट संसदमा पेश गर्नेगरी तयारी गर्न सरकारसँग आग्रह गरेको छ।
आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा समिति सभापति रामहरि खतिवडाले संघीय निजामति सेवा विधेयकलाई आगामी समितिको बैठकबाट संसदमा पेश गर्नेगरी तयारी गर्न सरकारलाई निर्देशन दिनुभएको हो । उहाँले समिति सदस्यहरु र जनताको धारणा बुझेर सरकारलाई आगामी समितिको बैठकमा उपस्थित हुँदा निजामति विधेयक जसरी पनि संसदमा पेश गर्नेगरी तयारीका साथ उपस्थित हुन आग्रह गर्नुभयो ।
सरकारले स्पष्ट नबनाए समितिले आफ्नो प्रक्रिया अनुसार काम अघि बढाउने जानकारी दिनुभयो । कानून निर्माण गर्दै जाँदा पुरानालाई समय थप्दै जाने र नयाँलाई बाटो बन्द गर्ने प्रवृत्तिको विकास भए जनमानसमा नराम्रो प्रभाव पर्ने बताउनु भयो । सभापति खतिवडाले अख्तियारको विधेयकमा पनि सरकारले आफ्नो स्पष्ट धारणा बनाउनुपर्ने र छिटो विधेयक टुंग्याउनुपर्नेमा जोड दिनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया