काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले २०४६ को परिवर्तनपछि सामुदायिक वन अवधारणाले देशलाई अन्तर्राष्ट्रियस्तरमा प्रशंसा दिलाएको बताउनुभएको छ ।
दोस्रो राष्ट्रिय वन संवर्द्धन गोष्ठीलाई सम्बोधन गर्दै उहाँले वन व्यवस्थापनको इतिहासमा नेपालको वन प्रणाली हरित लोकतन्त्रको सफल अभ्यास भएको बताउनुभएको हो। वर्तमान समय बदलिएकाले तिब्र सामाजिक, आर्थिक र प्राविधिक रुपान्तरणको बीचमा रहेको रअबको वन व्यवस्थापन नगद आम्दानी, नवप्रवर्तन र डिजिटल प्रविधि बजार पहुँच, मूल्य श्रृंखला र स्थानीय रोजगारी सिर्जनासँग जोड्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
वन क्षेत्र केबल संरक्षणको विषय मात्र नभएको बताउँदै उहाँले वन जीवन, जलवायु र अर्थतन्त्रको आधारसमेत भएको स्पष्ट पार्नुभयो । वन क्षेत्रको समुचित उपयोगका लागि सबै पक्षको एकमत र सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा उहाँले २० वर्षे रणनीतिक योजनामार्फत नीति, संरचना र मार्गदर्शनको स्पष्टता पाएको र संघीय संरचना अनुसार संरक्षणको जिम्मेवारी प्रदेश सरकारको रहेको जानकारी दिनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया