एजेन्सी । पाकिस्तानी सेनाले भारतले आफ्ना तीनवटा हवाई अड्डामा आक्रमण गरेको आरोप लगाउँदै त्यसको जबाफी कारबाही सुरु गरेको जनाएको छ। पाकिस्तानले आफ्नो कारबाहीलाई 'अपरेसन बुनयान मरसूस' नाम दिँदै एक भारतीय हवाई अड्डा र अन्य निशानाहरूमा हमला गरेको जनाएको छ।
श्रीनगर विमानस्थलनजिकै रहेका एक जना प्रत्यक्षदर्शीले बिहानै एउटा जेट नजिकैबाट उडेको र त्यसपछि विस्फोटन भएको सुनेको बीबीसीलाई बताएका छन्। शनिबार बिहान पाकिस्तानका तर्फबाट गरिएका ती दाबीहरूमा पत्रकार सम्मेलनमार्फत प्रतिक्रिया जनाउँदै भारतीय वायु सेनाका विङ कमाण्डर व्योमिका सिंह र विदेशसचिव विक्रम मिस्री दुवैले भारतका सैन्य पूर्वाधारमा क्षति पुगेको भन्ने कुरा अस्वीकार गरेका छन्।
विवरणमा भारतीय आक्रमणमा परेको भनिएको एक हवाई अड्डा - नूर खान - पाकिस्तानको राजधानी इस्लामाबादबाट १० किलोमिटर पर रहेको रावलपिन्डीमा पर्छ। स्थानीय समय अनुसार बिहान करिब ३ बजेर १५ मिनेट जाँदा हमला भएको भनिएको छ। दुवै देशमा कैयौँ विमानस्थल बन्द हुनुका साथै उडानहरू प्रभावित बनेका छन् ।
त्यसको केही समयपछि पाकिस्तानको उड्डयन निकायले दिउँसोसम्मका देशको हवाई क्षेत्र बन्द गरिएको जनाएको छ। र त्यस यताका समयमा भारतीय उड्डयन निकायले समेत १५ मेको बिहानसम्मका लागि देशको उत्तर र पश्चिममा रहेका ३२ वटा विमानस्थलहरू बन्द गर्ने घोषणा गरेको छ।
भारतीय सेना के भन्छ?
भारतले आफ्ना हवाई अड्डालाई निशाना गराउने क्रममा पाकिस्तानले तीव्र गतिको क्षेप्यास्त्र प्रयोग गरे तापनि भारतले त्यसलाई निष्क्रिय पारिदिएको शनिवार पत्रकार सम्मेलनमार्फत जनाएको छ। भारतीय सेनाले सामाजिक सञ्जालमा पाकिस्तानले उक्साहटपूर्ण हमला बढाएको बताउँदै त्यसमा आफ्ना पश्चिमी सीमामा सर्वसाधारणहरूलाई खतरामा पार्ने गरी व्यापक ड्रोन प्रहार गरेको बताएको छ।
तिनै प्रयासमध्ये एकमा भारतको पञ्जाब राज्यको अमृतसर सहरको खासा क्यान्टोनमेन्टमाथि शत्रुपक्षका कैयौँ सशस्त्र ड्रोनहरू उडिरहेको देखिएको भारतीय सेनाले जनाएको छ। "हाम्रा हवाई प्रतिरक्षा एकाइहरूले शत्रुका ती ड्रोनहरूलाई तुरुन्तै हमला गरे र नष्ट गरे," सेनाले एक्समा जारी गरेको एक विज्ञप्तिमा भनेको छ। शनिवार बिहानैदेखि भारत र पाकिस्तानबीचको एलओसी भनिने नियन्त्रित सीमा क्षेत्रमा धेरै तर्फबाट विस्फोटन भएका विवरणहरू आइरहेका छन्।
बीबीसी पत्रकारहरूले भारत प्रशासित कश्मीरका श्रीनगर र जम्मू सहरहरूमा विस्फोटका आवाजहरू सुनेका छन्। तर ती विस्फोटनका स्रोत पहिचान गरिएको छैन।
पाकिस्तानमा प्रधानमन्त्रीले डाके बैठक
पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले न्याश्नल कमाण्ड अथ्योरिटीको बैठक बोलाएका छन्। उक्त निकाय इस्लामाबादको परमाणु अस्त्रहरूको रेखदेख गर्ने शीर्ष निकाय हो। त्यहाँको सेनाका प्रवक्ताले जवाफी आक्रमण जारी रहेको दाबी गर्दै भारतले आफूहरूकामा क्षेप्यास्त्र प्रहार गरेको सबै हवाई अड्डाहरूलाई लक्षित गरिरहेको जनाएका छन्।
पाकिस्तानी सेनाले भारतको एस-४०० प्रतिरक्षा प्रणाली ध्वस्त पारेकोसहित विभिन्न दाबी गरिरहेको छ। उसले साइबर आक्रमण सुरु गरेको र सत्तारुढ भारतीय जनता पार्टी सहित भारतका केही शीर्ष वेबसाइटहरू ह्याक गरेको पनि बताएको छ। बीबीसीले यी दाबीहरूको स्वतन्त्ररूपमा पुष्टि गर्न सक्दैन र हालसम्म भारतले अहिलेसम्म यसमा कुनै टिप्पणी गरेको छैन।
दिल्लीमा रहेका एक बीबीसी संवाददाताले पछिल्लो यस विकासक्रम उपमहाद्वीपको लागि खतरनाक क्षण बनेको बताएका छन्। परमाणु हतियार सम्पन्न भारत र पाकिस्तानले अब एकअर्कामाथि क्षेप्यास्त्र प्रहार गरिरहेका घटनालाई उल्लेख गर्दै बीबीसीका दक्षिण एशिया क्षेत्रीय सम्पादक अनबरसन एथिराजनले दुवै देशले वृद्धि गरेका सैन्य गतिविधि 'खतरनाक' रहेको बताएका छन्।
गत २२ एप्रिलमा भारत प्रशासित कश्मीरको पहलगाममा भएको हमलामा एक नेपाली नागरिकसहित २६ जनाको ज्यान गएपछि दुवै परमाणुशक्ति सम्पन्न देशबीच पछिल्लो तनाव चर्किएको छ।बीबीसीबाट
फेसबुकबाट तपाईको प्रतिक्रिया