अराजकरुपमा प्रश्तुत हुने सामाजिक सञ्जाललाई अंकुश लगाउनु आजको आवश्यकता हाेः मन्त्री गुरुङ

373 Shares

काठमाडौँ । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अराजक रुपमा प्रश्तुत हुने सामाजिक सञ्जाललाई अंकुश लगाउनु नै आजको आवश्यकता भएको बताउनुभएको छ। 

नेपाल प्रेस युनियनको आयोजनामा ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताउनुभएको हो । उहाँले अनलाइनको माध्यमबाट अफवाह फैलाइरहेको भन्दै धार्मिक, राजनीतिक र राज्य शक्तिमाथि अराजक किसिमबाट सामाजिक सञ्जालको प्रयोग हुने गरेको बताउनु भयो । यसले प्रेसलाई बद्नाम गर्ने काम गरिरहेको उल्लेख गर्नुभयो । प्रेस स्वतन्त्रता बलियो भएमात्रै प्रजातन्त्र बलियो हुने बताउनु भयो । 

मन्त्री गुरुङले जलवायु परिवर्तनको असर बढ्दै गएको भन्दै समयमै सचेत हुनुपर्ने बताउनु भयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रेस जगतको महत्वपूर्ण भूमिका रहेको बताउँदै प्रेस जगतले जलवायु परिवर्तनबाट उत्पन्न समस्या र यसले विकास निर्माण र समाजमा पारेको असरबारे आम नागरिकलाई सुसूुचति गर्नुपर्ने बताउनु भयो । उहाँले आजको दुनियाँमा खाली विकासमात्र भन्ने तर प्राकृतिक तौरतरिकामा कुनै मान्यता नराखिनु दुर्भाग्यपूर्ण भएको स्पष्ट पार्नुभयो । विकास कुनै व्यक्तिको सनकमा भइरहेकाले अबको दश वर्षपछि त्यसले निम्त्याउने समस्या कस्तो होला भनेर सञ्चार क्षेत्रले बहस चलाउनुपर्ने बेला आएको मन्त्री सुब्बाको भनाई थियो । 

मन्त्री गुरुङले ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ ले हिमाली क्षेत्र लोमान्थाङमा पुगेर जलवायु परिवर्तनले पारेको असरबारे समिटबाट प्राप्त सुझावहरुले आफूहरुलाई यसबारेमा सोच्न दबाब पार्ने बताउनु भयो ।