पनौतीदेखि नमोबुद्धसम्म शान्ति पदयात्राको प्रथम राष्ट्रपति यादवले समुद्घाटन गर्ने

391 Shares

काभ्रेपलाञ्चोक। काभ्रे सेवा समाजको आयोजनामा बुद्ध जयन्तीको अवसर पारेर आगामी बैशाख २९ गते पनौतीदेखि नमोबुद्धसम्म शान्ति पदयात्रा हुने भएको छ। 

काभ्रेपलाञ्चोक जिल्लाको समग्र विकासको लागि “काभ्रेको लागि केही गरौं” भन्ने मुल नाराका साथ २०६९ सालमा  स्थापना भएको समाजले विश्व सम्पदा सुचीमा प्रस्तावित र मन्दिरहरुको सहरको रुपमा परिचित काभ्रेको पनौतीदेखि गौतमबुद्धले पाइला टेकेको नमोबुद्धसम्म सांस्कृतिक शान्ति पदयात्रा कार्यक्रम आयोजना गर्न लागेको हो । सो शान्ति पदयात्राको पनौतीमा आयोजित कार्यक्रममा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले समुदघाटन गर्ने कार्यक्रम तय भएको छ । 

494819226_1207628877255442_2930133369441404381_n.jpg

बागमती प्रदेश अन्तर्गत काठमाडौं पर्यटन कार्यालयको मुख्य सहयोग, काभ्रेका स्थानीय पालिकाहरुको सहयोग तथा विभिन्न साझेदारहरुको सहयोगमा शान्ति पदयात्रा आयोजना गर्न लागेको समाजका अध्यक्ष पुरुषोत्तम नेपालले जानकारी दिए । विश्वभर शान्ति र सद्भावको सन्देश फैल्याउँदै आन्तरिक तथा वाह्य पर्यटन प्रवर्द्धन गर्ने तथा स्थानीय कला, संस्कृतिको सम्वर्द्धन गर्ने उद्देश्यसहित शान्ति पदयात्रा कार्यक्रम आयोजना गरिन लागिइएको हो । उनका अनुसार, पनौतीको मानेश्वरीबाट रिवन काटी शान्ति पदयात्रा सुरु गर्ने र सुन्थान–इटे–शंखु–शंखेश्वरी–जंगल हुँदै नमोबुद्धमा पुगेर टुंगिनेछ । पनौतीदेखि नमोबुद्धसम्म ९.५ किलोमिटर दुरी छ । 

बुद्ध जयन्तीको दिन पारेर आयोजना गरिने यो कार्यक्रम विश्वमा शान्ति र सद्भावको सन्देश फैल्याउनुका साथै स्थानीय कला, संस्कृतिको प्रवर्द्धनमा सहयोग गर्नुका साथै आन्तरिक र वाह्य पर्यटन प्रवर्द्धनका लागि पनि महत्वपूर्ण योगदान गर्ने अपेक्षा समाजले गरेको छ । 
समाजका अनुसार, पदयात्रामा विभिन्न संघसंस्था, सरकारी निकाय, व्यापार व्यवसाय, नागरिक समाज, पत्रकार लगायतका क्षेत्रका प्रतिनीधिहरुसहित करिब एक हजार जना सहभागी हुने लक्ष्य राखिएको छ ।