काठमाडाैं । गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीको पक्राउ प्रकरणमा कुनै पूर्वाग्रह नभएको स्पष्ट पार्नुभएको छ।
बिहीबारको प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै उहाँले चौधरीको पक्राउबारे स्पष्ट पार्नुभएको हो । उहाँले सर्वोच्च अदालतका एक कर्मचारीले विवेक गुमाउँदा यो घटना हुन पुगेको बताउनु भयो । यसअघि सर्वोच्च अदालतबाट हुने गरेको पत्राचारलाई प्रहरी प्रशासनले तत्काल कार्यान्वयन गरेझैं उक्त घटनामा पनि सही नियतले कानूनको कार्यान्वयन गर्ने मनशायबाहेक कुनै पूवाग्रह नरहेको बताउनु भयो ।
भविष्यमा यस्ता घटना नदोहोरिनेतर्फ सबैलाई सजग र सचेत बनाएकोसमेत जिकिर गर्नुभयो । साथै, अनधिकृतरुपमा पत्र लेख्ने शाखा अधिकृत महिमानसिंह विष्टमाथि झुटो जानकारी दिन नहुने, आदेशको अवज्ञा गर्न नहुने र कीर्ते गर्न नहुने मुद्दामा अनुसन्धान भइरहेको उहाँले जानकारी गराउनु भयो । उहाँले उक्त घटनाले चौधरी, परिवारमा पर्न गरेको असहजताप्रति क्षमा माग्नुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया