'यत्तिले पुगेन, अपराध अनुसन्धानको दायरा नयाँ किसिमले अघि बढाउनूस्': प्रहरीलाई गृहमन्त्रीको निर्देशन

342 Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले अपराधका नयाँ आयामहरु थपिएको भन्दै नयाँ तरिकाले अपराध अनुसन्धानको दायरा बिस्तार गर्न निर्देशन दिनुभएको छ। 

आइतबार काठमाडौंमा नेपाल प्रहरी स्टाफ कोर्सको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले अपराध अनुसन्धानको दायरा बिस्तार गर्न निर्देशन दिनुभएको हो । उहाँले नेपाल प्रहरीले अहिले गरिरहेको अपराध अनुसन्धानले मात्रै नपुग्ने भन्दै अझै अनुसन्धानको दायरालाई फराकिलो बनाइ शान्ति सुरक्षा कायम गर्नुपर्ने बताउनु भयो । उहाँले २५—३० वर्ष पहिलाको भन्दा अहिले धेरै राम्रो रहेको भएपनि पछिल्ला समयमा आएका नयाँ अपराधका आयामहरु अनुसार अनुसन्धानमा पनि नयाँ प्रविधिको माध्यमबाट पहुँच बढाउनुपर्ने बताउनु भयो । नेपाल प्रहरी कानून कार्यान्वयनको महत्वपूर्ण माध्यम भएकाले समयानुसार अघि बढ्न सक्नुपर्ने बताउनु भयो । 

गृहमन्त्री लेखकले सुरक्षामा देखिएका चुनौतिहरुलाई सम्बोधन गर्न थप परिस्कृत बन्नुपर्ने जरुरी रहेको बताउनु भयो । समाज दिनप्रतिदिन रुपान्तरण भइरहेको र प्रगतितर्फ अघि बढिरहेको भएपनि त्यसमा अपराधिक क्रियाकलापको संख्या पनि बढ्दै गएको बताउनु भयो । अवसर र सम्भावनासँगै चुनौति, जोखिम उत्तिकै रहेको गृहमन्त्री लेखकको भनाइ छ । त्यसलाई नियन्त्रण गर्न नयाँ तौरतरिकाहरु सिक्न जरुरी रहेको उल्लेख गर्नुभयो । 

गृहमन्त्री लेखकले पछिल्लो समयको परिवर्तनबाट उत्पन्न हुने चुनौतिलाई ठिक ढंगले सम्बोधन गर्न नेपाल प्रहरी स्टाफ कोर्स लगायतका कोर्सहरुको भूमिका महत्वपूर्ण हुने बताउनु भयो । आजबाट नेपाल प्रहरीमा पहिलो पटक लिडरसिप एण्ड स्टाफ कोर्स शुरु भएको हो । स्टाफ कलेजका लागि ३५ जनालाई सहभागी गराउने भनिए पनि प्रवेश परीक्षामा १७ जना प्रहरी नयाव उपरीक्षक (डिएसपी) मात्रै उत्तिर्ण भएका छन् । 

२०७० सालमा प्रहरी निरीक्षकमा भर्ना भएकाहरूको टोलीबाट कोर्सको शुरुवात गरिएको छ । प्रहरीमा पहिलोपटक शुरु भएको स्टाफ कोर्सले बढुवालाई व्यवस्थित बनाउनेछ । अब स्टाफ कोर्स अध्ययन गर्नेहरूले तीन सेमेस्टरमा परीक्षा दिनुपर्नेछ । कुनै सेमेस्टरमा अनुत्तिर्ण भए जुन परीक्षामा भएको हो, त्यो सेमेस्टरको परीक्षा पुनः अर्को वर्ष दिन पाइनेछ । प्रश्तावित विधेयक संसदबाट पारित भएर कार्यान्वयनमा आए स्टाफ कलेज पास नगर्नेहरू प्रहरी नायव उपरीक्षक (डिआईजी) बन्न पाउने छैनन् । प्रहरी उपरीक्षक (एसपी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा पनि स्टाफ कलेज गरेका र नगरेकाका लागि छुट्टै कोटा तोकिएको छ ।