आईपीएलः शीर्ष स्थानमा उक्लियाे आरसिबी, चेन्नई दुई रनले पराजित

377 Shares

काठमाडौं । रोयल च्यालेन्जर बंगलोरु (आरसिबी) इन्डियन प्रिमियर लिग (आईपीएल)को शीर्ष स्थानमा पुगेको छ। चेन्नई सुपर किङलाई दुई रनले हराउँदै आरसिबी १६ अंकका साथ शीर्ष स्थानमा पुगेको हो।

शनिबार भएको खेलमा २१४ रनको लक्ष्य पछ्याएको चेन्नईले ५ विकेटको क्षतिमा २११ रन मात्र जोडेको हो । चेन्नईका लागि अन्तिम ओभरमा १५ रन आवश्यक रहेकोमा सुरुवाती तीन बलमा यस दयालले दुई रन दिएर महेन्द्रसिंह धोनीको विकेट लिएका थिए।

चेन्नईका लागि आयु मन्थ्रेले सर्वाधिक ९४ रनको योगदान गरे । ४८ बलको सामना गरेका उनले ९ चौका र पाँच छक्का प्रहार गरे। रविन्द्र जडेजाले अविजित रहँदै ४५ बलमा ७७ रन जोडे। आरसिबीका लुङ्गी एनगीडीले चार ओभरमा ३० रन खर्चेर तीन विकेट लिए।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आरसिबीले पाँच विकेटको क्षतीमा २१३ रन जोडेको हो। बंगलोरका ज्याकोब बेथेल, विराट कोहली र रोमारियो सेफर्डले अर्धशतक प्रहार गरे। सेफर्डले १४ बलमा अविजित ५३ रन प्रहार गरे। उनले ६ छक्का र ४ चौका हिर्काएका थिए। 

आरसिबीका लागि बेथेल र कोहलीले पावर प्लेमा कुनै विकेट नगुमाई ७१ रन जोडेका थिए । कोहलीले ६२ तथा बेथेलले ५५ रन जोडे। चेन्नाइका माथेस पाथिरनाले तीन विकेट लिए । तालिकामा आरसिबी १६ अंक सहित शीर्ष स्थानमा छ। चेन्नई भने चार अङ्कसहित पुछारमा छ।