काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संसदभित्र आफ्नो प्रश्तुति प्रभावकारी बनाउन सांसदहरुलाई निर्देशन दिनुभएको छ।
शनिबार बालुवाटारमा बसेको पार्टीको संसदीय दलको बैठकमा उहाँले यस्तो निर्देशन दिनुभएको हो । उहाँले पार्टीको मर्यादा र अनुशासन कायम राख्दै प्रश्तुति प्रभावकारी बनाउन निर्देशन दिनुभयो । सरकारले संसदमा प्रश्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सही भएको बताउँदै उहाँले नीति तथा कार्यक्रम विकास र समृद्धिमा केन्द्रित रहेको बताउनु भयो ।
सांसदहरुले संसदमा बोल्दा जिम्मेवार हुनुपर्ने भन्दै राम्रोसँग अध्ययन गरेर मात्रै बोल्न निर्देशन दिनुभयो । संसदमा बोल्नु अगाडि बुँदागतरुपमा टिपेर बोल्नुपर्ने बताउँदै विपक्षीहरुले बिरोध गर्ने, गलत नियतले बोल्ने भएकाले तत्काल प्रतिवाद गर्नसक्ने गरी सांसदहरुले तयारी गर्नुपर्ने बताउनु भयो ।
सरकारले शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदको संयुक्त बैठकमार्फत सार्वजनिक गरेको छ । नीति तथा कार्यक्रममा सांसदहरुलाई संशोधन गर्न ७२ घण्टाको समय पनि उपलब्ध भइसकेको छ । सरकारको नीति तथा कार्यक्रमका बारेमा मिश्रित प्रतिक्रिया आएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया