इजरायली सेनाद्वारा वेस्ट बैंक शिविरमा प्यालेस्टिनी नागरिकको हत्या

392 Shares

एजेन्सी ।  प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार उत्तरी वेस्ट बैंक शहर नाब्लसको पूर्वमा रहेको बालाता शरणार्थी शिविरमा शुक्रबार इजरायली सेनाद्वारा एक प्यालेस्टिनी नागरिकको हत्या गरिएको छ । 

रामल्लाहस्थित मन्त्रालयले एक प्रेस विज्ञप्तिमा नागरिक मामिलाको सामान्य प्राधिकरणले ३९ वर्षीय ओमर मुस्तफा अबु लैलको मृत्युको बारेमा जानकारी गराएको हो । जसको शव इजरायली हिरासतमा छ। यसैबीच प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटी (पीआरसीएस) ले इजरायली सेनाले घेरा हालेर शिविरको एउटा घरभित्र अबु लैललाई गोली हानेको बताएको छ । 

पीआरसीएसले उल्लेख गरेको छ कि इजरायली सेनाले एम्बुलेन्सहरूलाई क्षेत्रमा पुग्नबाट रोकेको थियो र अपरेशनको क्रममा शिविरका सबै प्रवेशद्वारहरू बन्द गरेको थियो । इजरायली पक्षले यस घटनामा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन । अक्टोबर ७, २०२३ मा इजरायली–प्यालेस्टिनी द्वन्द्वको पछिल्लो चरण शुरु भएदेखि नै वेस्ट बैंकमा तनाव बढ्दै गएको छ । इजरायली सेनाले विगतका महिनाहरूमा उत्तरी वेस्ट बैंक क्षेत्रहरूमा आफ्नो कारबाहीलाई तिब्र बनाएको छ ।सिन्ह्वा