काठमाडाैं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले आगामी संसदको अधिवेशनमा शिक्षकका माग पूरा हुनेगरी विद्यालय शिक्षा विधेयक पारित गर्ने बताउनुभएको छ।
बुधबार सभामुख देवराज घिमिरेले र प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकहरुसँग भएको छलफलबारे पत्रकारहरुलाई जानकारी दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वैशाख १२ गतेदेखि शुरु हुने बजेट अधिवेशनबाटै शिक्षा विधेयक पारित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । संसद अधिवेशनको नियमित कार्यसूचिका नीति तथा कार्यक्रमलाई केही दिन होल्ड गरेर भएपनि शिक्षा विधेयक पारित गर्ने उहाँको भनाइ छ ।
उहाँले शिक्षा उपसमितिमा छलफल भइरहेको शिक्षा विधेयक समितिमा पुगेपछि संसदमा आउन वैशाख महिनाको अन्तिम सातासम्म लाग्न सक्ने बताउनु भयो । ऐन कानून निर्माणको आफ्नै विधि र प्रक्रिया रहेकाले केही समय लाग्ने बताउँदै उहाँले शिक्षकहरुमा शिक्षाप्रतिको जवाफदेहिता भएकाले आन्दोलन फिर्ता लिएर शैक्षिक गतिविधिमा जोडिन आग्रह गर्नुभयो । सरकारले जनाएको प्रतिबद्धतालाई शिक्षकहरुले सकारात्मक ढंगले ग्रहण गर्नुपर्ने उहाँको भनाइ छ ।
नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले वैशाख १९ गते संसदमा सरकारको नीति तथा कार्यक्रम प्रश्तुत हुने बताउनु भयो । उहाँले सभामुखसँगको छलफलमा शिक्षा विधेयकको विषयमा खास छलफल नभएपनि समितिबाट संसदमा विधेयक आयो भने प्राथमिकताका साथ अगाडि बढाउने निर्णय भएको बताउनु भयो । आगामी अधिवेशनमा सरकारको नीति तथा कार्यक्रममाथि हुने छलफल नै प्रमुख विषय भएको बताउनु भयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले शिक्षकको मागअनुसार विद्यालय शिक्षालाई बलियो हुनेगरी शिक्षा ऐन जारी हुने बताउनु भयो । कानून निर्माणमा संसदको भूमिका र प्रक्रिया हुने भएकाले शिक्षकहरुले काम गर्न समय दिनुपर्ने बताउनु भयो । उहाँले शिक्षा विधेयक धेरै पहिल्यै आउनुपर्ने भएपनि आगामी अधिवेशनमा विधेयक निर्माणमा संसद तयार रहेका बताउनु भयो । शिक्षा ऐन शिक्षकहरुको माग मात्रै नभइ राजनीतिक उपलब्धि र शैक्षिक प्रणालीको मेरुदण्ड भएको उहाँको भनाइ छ । प्रमुख सचेतक परियारले शिक्षामन्त्रीको राजीनामा सामान्य प्राविधिक कुरा भएकाले यो ठूलो विषय नभएको बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया