गाजाको ६९ प्रतिशत भूभागमा इजरायलको निकासी आदेश : राष्ट्रसङ्घीय एजेन्सी

460 Shares

गाजा। प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) ले आइतबार गाजा पट्टीको ६९ प्रतिशत भूभाग इजरायली निकासी आदेशअन्तर्गत रहेको बताएको छ ।

इजरायली सेनाले मार्च १८ र अप्रिल १४ को बिचमा कम्तीमा २० वटा निकासी आदेश जारी गरेको युएनआरडब्लुएले एक प्रेस विज्ञप्तिमार्फत जनाएको छ । एजेन्सीका अनुसार हाल गाजामा स्थापित एक सय १५ आश्रय स्थलमा ९० हजारभन्दा बढी विस्थापित मानिस रहेका छन् ।

इजरायली गोलाबारी र सात हप्ता लामो सहायता नाकाबन्दीका कारण गाजामा पहिले नै गम्भीर मानवीय अवस्था बिग्रँदै गएको चेतावनी दिँदै मार्च१८ मा युद्धविराम भङ्ग भएपछि करिब चार लाख २० हजार मानिस पुनः विस्थापित भएको एजेन्सीले जनाएको छ ।

युएनआरडब्लुएले गाजामा चाँडै युद्धविराम, बन्धकहरूको रिहाइ र गाजामा मानवीय सहायता तथा व्यावसायिक आपूर्तिको निर्बाध प्रवाहको आवश्यकतामा जोड दिएको छ ।इजरायलले  मार्च २ देखि गाजामा सबै मानवीय सहायताको प्रवेश अवरुद्ध गरेको छ । त्यसपछि उसले हमाससँगको दुई महिनाको युद्धविराम समाप्त गरी गाजामा घातक हवाई र भूमि आक्रमण पुनः सुरु गरेको छ ।

युद्धविरामपछिको इजरायली आक्रमणमा एक हजार आठ सय २७ प्यालेस्टिनीको मृत्यु हुनुका साथै चार हजार आठ सय २८ घाइते भएको गाजाका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । रासस/सिन्ह्वा