काठमाडौं । कुनै पनि कम्पनी वा संस्था राम्रो हुनका लागि त्यसमा आबद्ध कर्मचारी दक्ष र इमान्दार हुनुपर्छ । काम गर्दा मनैदेखि गर्ने कर्मचारीले जीवनमा कहिल्यै पनि हार खानु पर्दैन, उसको कामको मूल्यांकन गर्ने जिम्मा भने ऊ स्वयंको हुँदैन, त्यहाँ संस्था र जिम्मेवारी लिएकाहरु हुन्छन् ।
कुनै काम गर्नु छ भने आफ्नै सोचेर गर्नुपर्छ । अझ आर्थिक क्षेत्रमा त काम गर्न निकै चुनौतीहरु पनि छन् । तैपनि काम नगरी पनि त हुँदैन । बिमा क्षेत्रमा लामाे समय काम गरिसक्दा पनि सपना रावलको लगनशीलता र सक्रियता अहिले पनि उस्तै छ । आर्थिक क्षेत्रमा काम गरेर लामो अनुभव पाइसक्नु भएका उहाँ अहिले प्रभु इन्स्योरेन्सको कार्यबाहक सहायक प्रबन्धक भएर काम गरिरहनु भएको छ । यसअघि उहाँले नेको इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीमा पनि मूख्य जिम्मेवारीका पदमा काम गरिसक्नुभएको छ । आफूमा भएको ज्ञान र सीपलाई संस्थाको हितमा लगाउनु पर्छ भन्ने उहाँको मान्यताले रावललाई अहिले सफल बनाउँदै गएको छ ।
सन् १९८३ मा भानुभक्त स्कूलबाट एसएलसी गर्नुभएकी उहाँले १९८७ मा पद्यकन्या क्याम्पसबाट प्रविणता प्रमाणपत्र तह र १९९१ मा सोही क्याम्पसबाट स्नातक गर्नुभएको थियो । तथ्यांक, अर्थशास्त्र र गणित विषयलाई प्रमुख बनाएर अध्ययन गर्नुभएकी उहाँ त्यसपछि वित्तिय क्षेत्रमा प्रवेश गर्नुभयो । त्यसमा पनि उहाँको रुचीको विषय बिमा क्षेत्रमा आबद्ध रहेर लामो कार्य अनुभव समेट्नुभएको छ ।
काम गर्ने शिलशीलामा कम्पनीको बृद्धि विकास र सफलताका लागि पूनर्बिमा रणनीतिहरुको विकास र कार्यान्वयन गर्ने, पूनर्बिमा विभागको छोटो र दीर्घकालिन लक्ष्यहरु स्थापना गर्ने, ठूला दाबीहरु व्यवस्थापन गर्ने, आफ्नो टिमका सदस्यहरुलाई मार्गदर्शन र सुपरिवेक्षण गर्ने लगायतका काममा उहाँले सधैं आफूलाई अग्रसर गराउनुभयो । यति मात्र नभएर रावलले नियामक निकायहरुसँग नियमित सम्पर्क गर्दै आवश्यक बैठकहरु पनि गरिरहनुभयो ।
विभागीय कार्यको सुधारका लागि विभाग प्रमुखहरुसँग आवधिक बैठक संचालन गर्दै संस्थालाई कसरी अघि बढाउन सकिन्छ र बढीभन्दा बढी व्यक्ति र संस्थालाई कसरी बिमामा आबद्ध गराउन सकिन्छ भनेर उहाँ तल्लिन भइरहनुभयो । उहाँ अझै भन्नुहुन्छ, ‘कुनै पनि प्रतिष्ठित संस्थामा चुनौतीपूर्ण पद लिएर काम गर्न चाहन्छु, जसले मलाई व्यवसायिक विकास र अवसरहरु प्रदान गरोस् । म मेरो अनुभव र प्रशिक्षण तथा कार्यशालाहरूमार्फत प्राप्त ज्ञानलाई संस्थाको सफलतामा योगदान पुर्याउन र टीमसँग मिलेर उत्कृष्ट परिणामहरू प्राप्त गर्न प्रयोग गर्न चाहन्छु ।’
सपना रावलले बिमासँग सम्बन्धित थुप्रै तालिम र यस्तै कार्यक्रमहरुमा स्वदेश तथा विदेशमा समेत गएर राम्रो विज्ञता हासिल गर्नुभएको छ । जसले अहिले उहाँलाई यसक्षेत्रमा काम गर्न सजिलो बनाएको छ । उहाँले आफूले यस्ता ज्ञान सिक्नु मात्र भएन, त्यसलाई व्यवहारमा उतार्दै अरुलाई पनि सिकाइरहनुभएको छ । काम गर्दा कुनै चुनाैती आए त्यसलाई सहज तरिकाले सामना गर्न सक्ने क्षमता छ उहाँसँग । त्यसैले त उहाँको बिमा क्षेत्रमै केही गर्छु भन्ने सपना आज विपनामा परिणत भएको छ । जुनसुकै क्षेत्रमा काम गर्न पनि पहिले अनुभव र इच्छाशक्ति हुनुपर्छ भन्ने मान्यतालाई उहाँले पुष्टि गर्नुभएको छ । आफूले जहिलेसम्म काम गर्न सकिन्छ, त्यसबेलासम्म यसैक्षेत्रमा योगदान दिने उहाँको सोच छ ।