नमोबुद्धका बाढीपहिरो पीडितलाई युनिसेफकाे बहुउद्देश्यीय नगद सहयोग (फोटोफिचर)

Prabhu Insurance
  • ज्ञानमणि नेपाल कालोटोपी

चौकीडाँडा, नमोबुद्ध । गत असोज १० देखि १२ गतेसम्मको अविरल वर्षाले अत्याधिक क्षति गरेको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा पीडितहरुलाई नगद राहत वितरण शुरु गरिएको छ ।

NECO
मंगलबार युनिसेफ नेपालकाे सहयोग र नेपाल सरकारको  समन्वयमा नगरभित्रका पीडितहरुलाई राहत वितरण गरिएको हो । वडा नम्बर ६ को चौकीडाँडास्थित कार्यालयमा आयोजित एक कार्यक्रमका बीच युनिसेफका नेपाल प्रतिनिधि एलिश एकुङ्गा र नगरप्रमुख कुन्साङ लामाले पीडितलाई नगद राहतस्वरुप वितरणको शुरुवात गर्नुभयो ।

पीडितमध्ये ५ जनासम्मको परिवारलाई १५ हजार र त्यसभन्दा बढी परिवार सदस्यलाई २० हजार दिइने नेपाल सरकारको निर्णयबमोजिम नमोबद्ध नगरपालिकाका ८४५ पीडितलाई नगद वितरण थालिएको हो । लाभग्राहीका लागि दशैंअघि नै रकम वितरण गरिने भनिए पनि सबैको बैंक खाता नभएकाले समस्या भएको थियो । जसको बैंक खाता उपलब्ध भयो उनीहरुलाई बैंकमै र खाता नहुनेलाई हातहातमै नगद वितरण गरिएको नगरप्रमुख लामाले बताउनुभयो ।

कार्यक्रममा युनिसेफका नेपाल प्रतिनिधि एलिश एकुङ्गाले अब नगद वितरणसँगै पुनर्निर्माणमा पनि सँगसँगै हातेमालो गर्न तयार रहेको बताउनुभयो । प्रभावितहरुको उद्धारमा जसरी स्थानीय सरकार लागिपरेको थियो, पुनर्निर्माणमा पनि त्यसरी नै अघि बढ्ने हो भने छिट्टै नै पीडितलाई राहत मिल्ले उहाँको भनाइ थियो । स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार र स्थानीयवासीको पहलमा हुने सबै काममा युनिसेफ सधैं साथमा रहेको बताउँदै उहाँले प्राकृतिक प्रकोपसँग जोगिन पूर्वतयारी पनि उत्तिकै जरुरी रहेकोमा जोड दिनुभयो । प्रकोपबाट धेरैजसो महिला, जेष्ठ नागरिक र बालबालिका प्रभावित हुने गरेको र उनीहरुलाई सुरक्षित राख्न सबैले आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो । युनिसेफले यस नगरपालिकाका खानेपानी, सडक निर्माणलगायतका पूर्वाधार निर्माणमा पनि सहयोग शुरु गरेको छ ।

सहयोगी संस्थाप्रति नगरप्रमुख लामाले नगरपालिका र व्यक्तिगततर्फबाट धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरिएको बताउनुभयो । उहाँले नगरका शिक्षा, स्वास्थ्य, कृषिलगायत अन्य क्षेत्रमा पनि निकै ठूलो क्षति पुगेको जानकारी दिनुभयो । कार्यक्रममा वडानम्बर ६ का वडाध्यक्ष टीकाबहादुर केसीले विपदमा सहयोगी बन्ने युनिसेफप्रति नगरपालिका ऋणी रहेको र नगरमा दोहोरो राहत वितरण नहुने गरि काम गर्न आफूहरु सक्रियतापूर्वक लागिरहेको बताउनुभयो । तथ्यांक संकलनमा छुट भएका पीडितहरुका लागि नगरपालिका र सम्बन्धित वडामा निवेदन दिन अनुरोध गर्दै उहाँले त्यस्ता नागरिकका लागि पूनर्विचार गरि राहत दिइने प्रष्ट पार्नुभयो ।

राहत रकम पाएका पीडितहरुका अनुहारमा सुनौलो किरण छरिएको राहत बुझेका स्थानीय इन्द्रबहादुर क्षेत्रीले बताउनुभयो । आफ्नो भएभरको घरजग्गालगायतका संरचनाहरु रोशीमा बगेको तितो स्मरण सुनाउँदै उहाँले आफ्नो ५ जनाको परिवार अहिले कोही शहर त कोही आफन्तकोमा बसिरहेको बताउनुभयो ।

नगरपालिकाले दिएको तथ्यांक अनुसार अविरल वर्षाले यस नगरमा ७ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । एक सय ८४ वटा गोठहरु भत्किएका छन् भने ५५ वटा भैंसी, ६३ वटा गाई/गोरु र ३६३ वटा बाख्रा मरेका छन् । वडाहरुका प्रशासनिक भवन ७ वटा, स्वास्थ्यचौकी १० र सामुदायिक भवन १० वटा क्षति भएका छन् । यस्तै विद्यालय भवन ४० वटा, खानेपानी आयोजना ११९ वटा, २४७ वटा साना ठूला सडकमध्ये ३५७ किलोमिटर क्षति, पूर्णरुपमा क्षति भएका घरहरु ४६४, आंशिक क्षति तथा जोखिममा रहेका १ हजार ९३ वटा घर र प्रभावित जनसंख्या २६ हजार १६० रहेको पालिकाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । विपद लगत्तै नगरपालिकाले उद्धार, खाद्यान्न सहयोगका कार्यक्रम गरेपछि अहिले नगद वितरणमा लागेको हो । यसपछि सर्बदलीय बैठक बसेर पुनर्निर्माणका काम शुरु गरिने नगर प्रमुख लामाले जानकारी दिनुभयो । 

तस्बीरहरुः ज्ञानमणि नेपाल कालोटोपी / न्युज हाउस नेपाल