काठमाडाैं । आइसिसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । आजकाे खेलमा नेपालले कुवेतलाई १ सय ८ रनले पराजित गरेकाे छ ।
नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो । कुवेतको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा घरेलु टोली यूएईसँग १ सय ६ रनको पराजित भएको थियो ।
दोस्रो खेलमा नेपालले दिएको १ सय ३१ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा २२ रनमै अलआउट भयो । त्यसअघि संयुक्त अरब इमिरेट्स (यूएई) को द सेभेन क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३० रन बनायो ।
नेपालका लागि कप्तान पूजा महतोले ३८ बलमा चार चौकासहित सर्वाधिक ३४ रन बनाइन् । यस्तै, साना प्रवीनले २५, ज्योत्सिनाका मरासनीले २३ र एलिसाकुमारी यादवले १५ रन बनाए । प्रतियोगितामा आयोजक यूएईसहित नेपाल, कुवेत र थाइल्याण्डको सहभागिता छ । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली विश्वकपमा छनोट हुनेछ । विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।