विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाइवाइ पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस र कर्णाली प्रदेश आ–आफ्ना खेलमा विजयी भएका छन् ।
प्रतियोगिता अन्तर्गत विराटनगरको मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा मंगलबार भएको खेलमा कर्णालीले वागमती प्रदेशलाई २० रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरको खेलमा २० दशमलव ५ ओभरमै सबै विकेट गुमाई ७५ रनमा सीमित भएको थियो । कर्णालीका विजय बोहोराले १६ रन बनाउँदा कमल विष्टले १५ रनको योगदान दिए । वागमतीका दिनेश विष्टले ५ विकेट लिए । उनले ३ दशमलव ५ ओभरमा २ मेडन राख्दै ६ रन मात्र दिए ।
यस्तै दयानन्द मण्डलले ३ विकेट र दीपक सेरलाले २ विकेट लिए । ७६ रनको विजयी लक्ष्य पाएको वागमतीले १८ दशमलव ३ बलमा सबै विकेट गुमाउँदै ५५ रनमा सीमित हुन पुग्यो । वागमतीका रोशन विश्वकर्माले १३ रन बनाउँदा उत्तम मगरले १० रनको योगदान दिए । कर्णालीका प्लेयर अफ द म्याच विपिन शर्माले ४ विकेट लिँदा युनिस ठकुरी र अनुज चनराले तीन तीन विकेट लिए ।
मंगलबार नै वैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको रोमाञ्चक खेलमा मधेसले लुम्बिनीलाई १ विकेटले पराजित गरेको छ । यस खेलअघि प्रतियोगितामा लुम्बिनी एकमात्र अपराजित टोली रहेको थियो । टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरको खेलमा २० ओभरमा सबै विकेट गुमाई ७० रनको योगफल बनायो । लुम्बिनीका समिर अलीले सर्वाधिक १२ रनबाहेक अरु ब्याटरले दोहोरो अङ्कलाई छुन सकेनन् । मधेसका प्लेयर अफ द म्याच अभिशेख तिवारीले सर्वाधिक ५ विकेट लिए । उनले ६ ओभरमा १६ रन दिए ।
७१ रनको लक्ष्य पाएको मधेसले २७ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको छ । मधेसका मयन यादवले २२ रन बनाउँदा इमरमन शेखले ११ रनको योगदान दिए । लुम्बिनीका रमेह कुर्मीले ४ विकेट लिँदा सन्तोष यादवले ३ विकेट लिए । लिगको सबै खेल सम्पन्न हुँदा सुदूरपश्चिम ६ खेलमध्ये ५ मा जीत र १ मा पराजित हुँदै १० अङ्कका साथ पहिलो स्थानमा उक्लिएको छ भने लुम्बिनी ६ मध्ये ५ खेलमा जीत र १ खेलमा पराजित हुँदै १० अङ्कका साथ नेट रन रेटमा पछि पर्दै दोस्रो स्थानमा झरेको छ।
यस्तै गण्डकी ६ खेलमा विजयी र ३ खेलमा पराजित हुँदै ६ अङ्कका साथ तेस्रो, मधेस ६ मध्ये ३ खेलमा विजयी र ३ खेलमा पराजित हुँदै ६ अङ्कका साथ नेट रन रेटमा पछि पर्दै चौथो स्थानमा, वागमती ६ मध्ये २ मा जीत र ४ खेलमा पराजित हुँदै ४ अङ्कका साथ पाँचौ स्थानमा, कर्णाली ६ मा २ मा विजयी र ४ खेलमा पराजित हुँदै ४ अङ्कका साथ छैठौँ स्थानमा र कोसी ६ खेलमा १ मा जीत र ५ खेलमा पराजित हुँदै २ अङ्कका साथ पुछारमा रहेको छ ।रासस