तिहार विशेष : भाइटीकामा के उपहार दिने ?

Prabhu Insurance
  • ज्ञानमणि नेपाल कालोटोपी

काठमाडाैं । दसैं सकियो र हामी सामू तिहार पनि आइसकेको छ, यतिबेला हामी तिहार मनाइरहेका छाैं । तिहारमा दिदीबहिनी वा दाजुभाइले आफ्नो क्षमताअनुसार उपहार लिने दिने चलन छ । यसमा पछिल्ला केही वर्ष यता परिवर्तन पनि भएको छ ।

NECO
यमपञ्चकको पाँचौं दिन भाइटीका हो । यो चाड दाजुभाइ र दिदीबहिनी भेटघाट हुने र सम्बन्ध प्रगाढ बनाउने अवसर पनि हो । दिदीबहिनीले आफ्ना दाजुभाइको सुख, समृद्धि एवं दीर्घायुको कामनाको साथ यो पर्व मनाइन्छ ।

भाइटीकाका बारेमा एउटा कथन पनि चर्चित छ । परापूर्वकालमा बहिनी यमुनाले यसैदिन दाजु यमराजलाई विशेष मानसम्मान गर्दै भाइपूजा गरेको धार्मिक बिश्वास छ । यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ । भाइ तिहारको दिन दीयो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदीबहिनी र दाजुभाइको सुख, समृद्धि, आरोग्य एवं दीर्घायुको कामना गरिन्छ ।

भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई पूजा गरि मिष्ठान्न भोजन खुवाइन्छ भने दाजुभाइले दिदीबहिनीलाई उपहार दिने चलन छ । यद्यपि पछिल्लो समय भने एकअर्कालाई उपहार दिने चलनको पनि सुरु भएको छ ।

उपहार के दिने ?
चकलेट

कुनै पनि उत्सव मिठाई विना अधुरो हुन्छ । त्यसमा तिहारको मसला मिसाएर दिन सकिन्छ । यसले स्वास्थ्यमा पनि फाइदा पुर्याउँछ । बजारमा विभिन्न प्रकारका चकलेट उपलब्ध छन् । गिफ्ट दिँदा प्याकेजिङ राम्रोसँग गरेर दिँदा एक आपसमा सम्बन्ध प्रगाढ हुन्छ । चकलेटले एकअर्कासँग बिताएका बाल्यकालको याद दिलाउँछ । चकलेट त्यति धेरै महंगो पनि पर्दैन ।

ह्याण्ड ब्याग
प्रायः केटीहरु ब्यागको सौखिन हुन्छन् । यस्तोमा दाजुभाइको लागि राम्रो अप्सन हुन सक्छ । नेपाली बजारमा थुप्रै प्रकारका स्वदेशी तथा विदेशी ब्राण्डका ब्यागहरु उपलब्ध छन् । नेपाली बजारमा ब्यागको मूल्य ५ सयदेखि शुरु हुुन्छ । दिदीबहिनीहरुले पनि दाजुभाइलाई ब्याग अथवा वालेट उपहारस्वरुप दिन सकिन्छ ।

स्मार्ट घडी
अहिलेको समयमा गिफ्टको परफेक्ट अप्सन हुन सक्छ स्मार्ट घडी । बजारमा विभिन्न ब्राण्डका घडी उपलब्ध छन् । नेपाली बजारमा यस्ता घडीको मूल्य १ हजारदेखि शुरु हुन्छ ।

ज्वेलरी
ज्वेलरी दिदीबहिनीहरुका लागि सबैभन्दा मन पर्ने गिफ्ट हो । त्यसकारण आफ्नो गच्छे अनुसारका ज्वेलरीलाई उपहारका रुपमा दिन सकिन्छ । कपडासँग म्याचिङ ज्वेलरी पनि दिन सकिन्छ । ज्वेलरी उपहार दिँदा सरप्राइजका रुपमा दिन सके झन राम्रो हुन्छ ।

स्मार्ट फोन वा ग्याजेट
चाडपर्वको अवसर पारेर इलेक्टो«निक कम्पनीहरुले नयाँ नयाँ ग्याजेटहरु विशेष छुट या अफरमा बजारमा ल्याएका हुन्छन् । बिशेषतः दिदीबहिनीलाई स्मार्टफोन उपहारका रुपमा दिन सकिन्छ । बजारमा विभिन्न कम्पनीका फोनहरु सस्तो मूल्यमा उपलब्ध भएकाले स्मार्टफोन तपाईंका लागि राम्रो उपहार सामग्री बन्न सक्छ ।

सजावटका सामान
दिदीबहिनीहरु घरको सजावटमा धेरै रुची राख्छन् । तिहारको अवसरमा घर सजावटको सामान पनि दिन सक्नु हुनेछ । कुनै शो पिसहरु गिफ्ट दिँदा एक अर्काको सम्बन्ध पनि सुमधर हुन्छ ।

कपडा
बजारमा चलेको फेसनको कपडा पनि राम्रो अप्सन हुन सक्छ । विभिन्न किसिमका कपडा बजारमा उपलब्ध छन् । जाडो सुरु भएकाले जाडोको कपडा गिफ्ट दिनु पनि उपयुक्त हुन्छ ।

भगवानको मूर्ति
भगवानको मूर्ति गिफ्ट दिनुलाई शुभ मानिन्छ । त्यसैले देवीदेवताका मेटलको मुर्ति गिफ्ट गर्न सक्नुहुनेछ । यसको मूल्य ५ सयदेखि २५ हजार रुपैंयाँसम्म पर्छ । लक्ष्मी, गणेश, शिव–पार्वती, राधा–कृष्ण, बुद्धको मूर्तिलाई उपहारका रुपमा दिन सकिन्छ ।

पेन्टिङ
भाइटीकामा पेन्टिङ गिफ्ट दिँदा राम्रो हुन्छ । तिहारमा घर सरसफाई गर्ने गरिन्छ । त्यसकारण घरको पुरानो सामान सबै फ्याकिने भएकाले पेन्टिङ राम्रो अप्सन हुन सक्छ । पेन्टिङको साथै कुनै राम्रो आर्ट पिस पनि गिफ्ट गर्न सकिन्छ ।

सनग्लास
सनग्लास पनि राम्रो गिफ्ट हुन सक्छ । नेपाली बजारमा विभिन्न ब्रान्डका सनग्लास उपलब्ध छन् । अहिले फेसनमा भएको सनग्लास दिन सकिन्छ । यो निकै उपयोगी गिफ्ट हुन सक्छ । नेपाली बजारमा यसको मूल्य ५ सयदेखि शुरु हुन्छ ।

अन्य
तिहारमा दाजुभाइ र दिदीबहिनीले एक अर्कालाई गिफ्टमा उपन्यास, कुनै जीवन उपयोगी किताबहरु, कथाका किताब, कुनै प्रख्यात व्यक्तिको जीवनीहरु पनि दिन सकिन्छ । त्यस्तै, मेकअपमा रुची हुनेहरुलाई मेकअपको सामानहरु पनि दिन सकिन्छ । दाजुभाइलाई पर्स, मफलर, टोपी, पञ्जा, ज्याकेट, टिसर्ट, स्वेटर, जुत्ता आदि उपहार दिन सकिन्छ ।

यी सबै कुराहरु भन्दा ठूलो र महत्वपूर्ण कुरा भनेको आफ्नो क्षमता कस्तो छ त्यसमा भर हुन्छ । यदि तपाईंसँग उपहार दिने मन त छ तर धन छैन भने उपहार दिनै पर्छ भन्ने हुँदैन । त्यस्तो बेला फूलको थुँगो पनि उपहारका लागि पर्याप्त हुन सक्छ । यसमा भने सबैले सोचविचार गर्नुपर्छ । गच्छे अनुसार चाडपर्व मनाउनु नै उपयुक्त हुन्छ ।

भाइटीकामा भाइमसलाको बजार कस्तो छ ?
नेपालीहरुको महान पर्व दसैं भर्खरै सकिएको छ र अर्को चार्ड तिहार नजिकै आउँदैछ । तिहारलाई झिलीमिली बत्ती र फूलैफूलको उज्यालो पर्वका रूपमा लिने गरिन्छ । उमंग एवं उत्साह बोकेर आउने दसैंपछिको सांस्कृतिक पर्व तिहारको आफ्नै महत्व रहेको छ । शरद ऋतुसँगै तिहार लाग्ने भएकाले यतिबेला खेतबारीदेखि घर–आँगनसम्म गोदावरी, सयपत्री तथा मखमली आदि फूलहरु फूलेर ढकमक्क हुने गरेका छन् ।

हिन्दू धर्मशास्त्र अनुसार तिहारमा काग, कुकुर, गाई, गोरुका साथै दाजुभाइको समेत पूजा गरिन्छ । यसरी गरिने पूजाका लागि धेरै सामग्रीहरू चाहिन्छन् । त्यसैले पूजा तथा भाइटीका लगाउनका लागि आवश्यक सामग्रीको व्यापार पनि राम्रो हुने गरेको छ । तिहारमा परम्परादेखि नै धेरै किसिमका सामग्री प्रयोग गर्ने गरिन्छ, अझ पछिल्लो समय परम्परागतभन्दा पनि नयाँनयाँ किसिमका सामग्रीको प्रयोग गर्न थालिएका छन् । यी सामग्री तिहारमा मात्रै धेरै खपत हुने गरेका छन् । तिहारमा भाइमसलाजन्य वस्तु देशभर करिब १ अर्ब रुपैयाँको कारोबार हुने खुद्रा व्यापार संघले जनाएको छ ।

तिहारका बेला भाइमसलामा प्रयोग हुने काजु, किसमिस, ओखर, बदाम, पेस्ता, नरिवल, छोकडा, सुकमेल लगायत विभिन्न मिठाइका परिकारको समेत व्यापार बढ्ने गरेको छ । यतिबेला काठमाडौं उपत्यकाका मुख्य व्यापारिक केन्द्र असन, इन्द्रचोक, न्युरोड, लगनखेल, कोटेश्वर, पाटन लगायतका क्षेत्रमा तिहारका सामग्री किन्नेको भिडभाड बढेको छ । काठमाडौंको असनमा विगत चारपुस्तादेखि भाइमसलाको व्यापार गर्दै आएका एक व्यापारीले विगतको वर्षमा भन्दा भिडभाड देखिए पनि ६० प्रतिशतले व्यापार घटेको बताएका छन् । भाइमसला किन्नेहरु पनि कमै मात्रामा आउने गरेको उनले बताए ।

त्यस्तै, विगत ४० वर्षदेखि असन चोकमा भाइमसला बेच्दै आएका कविकुमार ढङ्गोलको भनाइ पनि उस्तै छ । दसैंको भन्दा भिडभाड बढे पनि व्यापार ५० प्रतिशतले घटेको तर चोकमा नै रहेकाले केही ग्राहकहरु पनि आइरहेको उनले बताए । व्यापारीहरुले व्यापार नै आधा भएको बताए पनि उनीहरु व्यापार गर्न भने व्यस्त छन् । यसअघि ड्राईफ्रुडको खपत निकै कम थियो । तिहार लागेसँगै ड्राईफ्रुडको व्यापार बढ्ने आशा गरेका व्यापारीहरु व्यापार नबढेपछि चिन्तामा छन् ।

भाइमसलामा प्रयोग गरिने केही मसला मात्रै नेपालमा उत्पादन हुने भएकाले धेरैजसो मसला बाहिरी देशबाट नै आयात गर्नुपर्ने अवस्था छ । नेपालमा नै उत्पादन भएको ड्राइफ्रुडले नेपाली बजार धान्न नसक्ने भएकाले मखन र ओखर चीनबाट र आलमण्ड (हाडे बदाम) भारत, भियतनाम, कतार, थाइल्यान्ड, अमेरिका र अस्ट्रेलिया लगायतका देशबाट आयात गर्ने गरिन्छ ।