१०२ वर्षको उमेरमा पनि सक्रिय छन् अवकास प्राप्त प्रहरी 'चिन्तबहादुर बस्नेत'

Prabhu Insurance

काठमाडौं । मानिसको जिन्दगी धेरै कुरा सिक्न र केही कुरा सिकाउनका लागि हो । तर यस्ता केही व्यक्तिहरु पनि समाजमा छन्, जो सबैका लागि प्रेरणाका स्रोत त भएका छन् नै, देश र नागरिकका लागि जिउँदो धरोहर पनि बनेका छन् । यस्तै मध्ये एक हुन् अवकाश प्राप्त प्रहरी उपरिक्षक चिन्तबहादुर बस्नेत । 

NECO
लुम्बिनी प्रदेशको प्यूठान जिल्लामा पिता गणेशबहादुर बस्नेत र आमा निमादेवी बस्नेतका सुपुत्रका रुपमा चिन्तबहादुर बस्नेत विसं. १९८० साल असोजमा जन्मिएका हुन् ।

अवकाश प्राप्त प्रहरी उपरिक्षक चिन्तबहादुर बस्नेत सानैदेखि निडर स्वभावका थिए । दूरदर्शी स्वभावका बस्नेत देश र जनताको सुरक्षाको शिलशिलामा विसं. २००७ सालमा नेपाली सेनामा भर्ना भए । २०१२ सालपछि भने उनी नेपाल प्रहरीमा प्रवेश गरेका हुन् । प्रहरी सेवामा रहँदा उनले गरेको कामको उच्च मूल्यांकन गर्दै सरकारले उनलाई त्रिशक्तिपट्ट तेस्रो पदक, गोरखा दक्षिण बाहु चौथो, द ब्रुमा स्टार पदकबाट सम्मान गरेको थियो । यसका साथै व्रिटिस महारानीद्वारा एमबिओ पदक लगायत अन्य पुरस्कारका साथै नगद पुरस्कारबाट पनि सम्मानित भएका बस्नेत देश र जनताको सेवामा कटिबद्ध कुनै पनि सरकारी कर्मचारीले आफूले नागरिकको मन जित्ने गरि काम गर्नुपर्ने सल्लाह दिन्छन् ।

उनी आफू मात्र काम गरिरहनु पर्छ भन्ने मान्यतालाई पर सार्छन् । उनले १५ वर्ष प्रहरीमा जागिर खाएपछि अरुका लागि ठाउँ छोडिदिए र विसं. २०२७ सालमा स्वेच्छिक अवकास पनि लिए । त्यसपछि सरकारले उनलाई पुनः अर्को जिम्मेवारी दियो । शुरुमा त उनलाई थप जिम्मेवारी नलिउँ जस्तो लागेको थियो तर सरकारले नै विश्वास गरेपछि नाइँ भन्न पनि सकेनन् । त्यसपछि अर्थ मन्त्रालयको सहसचिवको रुपमा काम गर्न थालेको उनी बताउँछन् । त्यहाँ रहँदा उनले राजश्व संकलन र अनुसन्धानमा उल्लेखनिय काम गरे ।

काममा लगनशील, निडर र स्पष्ट वक्ताको छवि बनाएका बस्नेत अहिले १०२ वर्षका भए । यो उमेरमा पनि उनमा कामप्रतिको लगाव र झुकाव उस्तै छ । नेपाल प्रहरीको रुपमा कार्यरत रहेका यस्ता व्यक्ति कमै मात्र छन्, जो सबैका प्रेरणाका स्रोत बनेका छन् । उनीबाट सबै नेपालीले धेरै कुरा सिक्न जरुरी छ ।