मण्डनदेउपुरका चार वटा वडा बाढीपहिराेले धेरै प्रभावित, नागरिककाे दैनिकी कठिन बन्दै(फाेटाेफिचर)

Prabhu Insurance
  • ज्ञानमणि नेपाल कालाेटाेपी

काभ्रे । बाढीपहिराे पीडित काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाका चार वटा वडा निकै नै प्रभावित भएका छन् ।

NECO
जिल्ला प्रहरी कार्यालयले दिएकाे जानकारी अनुसार ७ जनाकाे मृत्यु बाढी पहिराेबाट भएकाे यस नगरका वडा नम्बर ९, १०, ११ र १२ बढी प्रभावित भएका हुन् । क्षति समग्र नगरमा छ तर मानवीय र भाैतिक संरचना तथा सडकहरु यी वडामा बढी क्षति भएकाे हाे ।

पानी पर्न राेकिए पनि उद्धारका काम अझै बाँकी छन् । स्थानीयवासी र जनप्रतिनिधीले यसमा समन्वय गरिरहेका छन् तर राज्यले यहाँ राहतका काम भने गरेकाे छैन ।  उपमेयर विष्णुमणि नेपालले दिनुभएकाे जानकारी अनुसार ५ दिनपछि जाेगिटारसम्म विजुलीकाे आपूर्ति भएकाे छ । समग्र नगरकाे अवस्था ०७२ सालकाे विनासकारी भूकम्पभन्दा जाेखिम छ । 'त्यतिबेला पनि याे क्षेत्र निकै समस्यामा थियाे । भूकम्पकाे पूनर्निर्माण सकियाे तर अर्काे विपत्ती आयाे ।' उहाँले भन्नुभयाे । अब यहाँकाे आवश्यकता पूनर्निर्माणकाे रहेकाे उहाँले बताउनुभयाे ।

समग्र काभ्रे जिल्ला पछिल्लाे बाढीपहिराेले धेरै समस्यामा छ । सरकारी राहत र उद्धार राेशी, पनाैती लगायतका क्षेत्रमा केन्द्रीत रहँदा उस्तै समस्यामा रहेकाे पाँचखाल र मण्डनदेउपुरमा भने स्थानीयवासी र जनप्रतिनिधीहरुले मात्र सक्रियता देखाइरहेकाे पाइन्छ ।

यसैबीच नगरपालिकाले मृतक प्रतिब्यक्ति राहतस्वरुप ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ । नगर ब्यवस्थापन समितिको बैठक बसेर यस्ताे निर्णय गरेको हाे । नगरप्रमुख एवं नगरस्तरीय विपद् ब्यवस्थापन समितिका संयोजक टोकबहादुर वाइबाको अध्यक्षतामा गत आइतबार बसेको बैठकले थप केही महत्वपूर्ण निर्णय पनि गरेको छ । नगरपालिकामा खासगरि तीन वटा वडामा मानवीय  क्षति भएकाे छ ।

नगरपालिकामा हालसम्म वडा नम्बर १२ का ५५ वर्षीय रामकृष्ण पराजुली, वडा नम्बर १० का ७४ वर्षीय पञ्चबहादुर तामाङ र सोही वडाका ५५ वर्षीय साहिँली तामाङ, वडा नम्बर ११ का ४६ वर्षीय कान्छीमाया तामाङ, ३२ वर्षीय सुनिता तामाङ, ८ वर्षीय रोशनी तामाङ र २ वर्षीय रोशन तामाङ गरी ७ जनाको निधन भएको पालिकाले जनाएकाे छ । 

पछिल्ला दिनमा परेको भारी वर्षाले नगरपालिकाभित्र पुर्याएको मानवीय तथा भौतिक क्षतिका विषयमा बैठकले निर्णयहरु गरेको हाे । बैठकले पहिरोमा पुरिएर निधन भएका नगरबासीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारमा समवेदना प्रकट गरेको छ । वर्षाका कारण घर, गोठ असुरक्षित भई विस्थापित भएका नगरबासीलाई अस्थायी बसोबास, खाद्यान्न, खानेपानी, औषधी लगायतका आपतकालिन सेवा उपलब्ध गराउने निर्णय गरेको छ ।

तत्काल राहत र उद्धारको कार्यमा समस्या परेकाले नगरपालिकाले दुई र निजी क्षेत्रको एक लोडर तथा जेसिबीहरु परिचालन गरी अवरुद्ध सडक सुचारु गर्ने तथा उद्धारका कार्यहरु सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले वडास्तरिय विपद् ब्यवस्थापन समितिलाई विपद्का घटना विवरण संकलन, उद्धार र राहत ब्यवस्थापनमा क्रियाशील गराउने पनि निर्णय गरेको छ । पशुधन क्षति भएमा नगरपालिकाको विपद्सम्बन्धी कार्यविधि बमोजिम क्षतिपूर्ति दिने निर्णय भएको छ । सर्वदलीय मुचुल्का, सर्जिमिन सिफारिससमेतको आधारमा भूकम्प पूनर्निर्माण पश्चात निर्माण भएका घर पूर्ण क्षति भएमा १ लाख रुपैयाँ दिने बैठकले निर्णय गरेको छ ।

जोखिमयुक्त घरको हकमा भूगर्भविज्ञ प्राविधिकबाट बसोबास गर्न अनुपयुक्त भनि सिफारिस भएको अवस्थामा पूर्णक्षति भएको घर सरह राहत उपलब्ध गराउने, सामाजिक संघ, संस्थाको भवनहरुको पहिरो नगरपालिकाले हटाउने, ब्यक्तिगत घर, गोठको सन्दर्भमा ब्यक्ति आफैंले पहिरो सफा गर्नुपर्ने, अस्थायी क्षति भएका तथा संरक्षण गर्नुपर्ने घरको हकमा तत्काल पाल, त्रिपाल उपलब्ध गराउने, गोठ, टहरा भत्किएको सन्दर्भमा तत्काल त्रिपाल वा प्लाष्टिक उपलब्ध पनि गराउने निर्णय भएको छ ।

मृत्यु हुनेको संख्या ६७ पुग्यो, कुन पालिकामा कति ?
गत बिहीबारदेखि परेको अविरल वर्षाका कारण काभ्रे जिल्लाका विभिन्न क्षेत्रमा गएको बाढीपहिरोमा हालसम्म ६७ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले दिएको पछिल्लो तथ्यांक अनुसार बाढीपहिरोबाट जिल्लामा ६७ जनाको मृत्यु र ८ जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार जिल्लामा ५२ जना घाइते छन् ।

आइतबार बिहानदेखि हालसम्म हेलिकोप्टरबाट ७४५ जनाको उद्धार गरिएको छ । यस्तै स्थानीय जनप्रतिनिधी, स्थानीयवासी र अन्यबाट उद्धार हुनेको संख्या ३ हजार २९९ रहेको प्रहरीले जनाएको छ । सवारी साधनबाट उद्धार भएका ८ हजार ४७१ मध्ये ३ हजार ५०७ महिला र ४ हजार ९६४ पुरुष रहेका छन् ।

पालिका अनुसार धुलिखेलमा २ र बनेपा नगरपालिकामा ३ जनाको मृत्यु भएको छ । यस्तै पनौतीमा १८, मण्डनदेउपुरमा ७, नमोबुद्धमा ५, रोशीमा ७, चौरीदेउरालीमा १, बेथानचोकमा १२, तेमालमा ९ र भुम्लुमा ३ जनाको मृत्यु भएको हो । जसमा पुरुषको संख्या ३१ र महिलाको संख्या ३६ रहेको छ । जसमध्ये १४ जना बालबालिका रहेका छन् ।

तस्बीरहरुः विमल पाैडेल आभास