काठमाडाै । गणेशमान सिंह (वि.सं.१९७२–२०५४) नेपालका वरिष्ठ राजनीतिज्ञ हुन् । प्रजातान्त्रिक योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर पनि थिए उनी । उनको जन्म वि.सं. १९७२ कार्तिक २४ गते भएको थियो ।
काठमाडौंको खानदानी परिवारमा जन्मिएका सिंहले वि.सं. १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजापरिषद्को सदस्य भई राणाशासन हटाउने राजनीतिमा आफूलाई समर्पण गराए । भद्रगोल जेल तोडेर भागेका गणेशमान प्रवास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनका एक नायक भइसकेका थिए ।
भारतमा अर्का नेता बीपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित भएपछि अन्य केही सहयोगीसाथ २००३ सालमा स्थापित नेपाली कांग्रेसलाई आजीवन नेतृत्व दिन गणेशमानको उल्लेखनीय भूमिका रहेको थियो ।
पहिलो जननिर्वाचित सरकारमा वरिष्ठ मन्त्री रहेका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर काराबास भोगे । त्यसपछि पुनः प्रवासमा राजनीतिक सङ्गठन विस्तार गरी २०३३ सालमा बीपीसँगै राष्ट्रिय मेलमिलापको नारा लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती ब्यवस्थाविरूद्ध सक्रिय रहे ।
तत्कालीन पञ्चहरूबाट बीपीसँगै मृत्युदण्डको माग गरिएका गणेशमानले २०३६ सालको विद्यार्थी आन्दोलन र जनमत संग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । ०३९ सालमा बीपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलन आरम्भ गरेका थिए । १९९७ सालदेखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका सर्वप्रिय नेता गणेशमानको अर्को महत्वपूर्ण योगदान २०४६ सालमा रहेको थियो ।
राष्ट्रिय जनआन्दोलनका लागि कम्युनिष्टहरूसँग मिलेर पञ्चायतविरूद्ध आन्दोलनको घोषणा गर्ने गणेशमान उक्त आन्दोलनका सर्वोच्च कमाण्डर थिए । पार्टीभित्र कुनै पनि पदको लोभ नभएका निडर र हक्की स्वभावले गणेशमान सधैं सबैका प्रिय बने । जीवनको उतरार्धतिर उनी पार्टीबाट केही असन्तुष्ट रहँदै पार्टीका कुनै पनि भूमिकामा रहन चाहेनन् । उनको निधन ०५४ असोज २ गते भएको थियो । उनका छोरा प्रकाशमान सिंह अहिले नेपाली कांग्रेसका वरिष्ठ नेता छन् । उनी अघिल्लो कार्यकालमा कांग्रेसका उपसभापति थिए ।
किन भनिन्छ गणेशमानलाई लौहपुरुष ?
जनआन्दोलन पश्चात उनले राजा वीरेन्द्रको प्रधानमन्त्री बन्ने आग्रहलाई अस्विकार गरी आफ्ना मित्र कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाए । उनलाई लौहपुरुषको उपाधी पनि त्यहीबेला दिइएको थियो ।
वि.सं. २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले वीरगंज मोर्चामा सशस्त्र संघर्ष गरेका थिए । संघर्षका हिसाबले बीपी कोइरालाभन्दा बढी समयसम्म देशमा प्रजातन्त्र बहाली र पुनर्बहालीका लागि समर्पित गणेशमान सिंह सैद्धान्तिक हिसाबले बीपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सदा क्रियाशील रहे ।
प्रजातन्त्रका लागि गणेशमानले जति दुःख सहेका छन् , त्यति गर्ने मान्छे नेपालमा कमै छन् । लौहपुरुष भनेको फलाम जत्तिकै जति गर्दा पनि नभाँचिने स्वभाव भएको व्यक्ति भन्ने बुझिन्छ । जुन उनको जीवनको हरेक मोडमा पुष्टि र प्रमाणित भएको छ । जनताले सहजरूपमा दिएका सर्वमान्य ! सर्वोच्च नेता ! फादर अफ डेमोक्रेसी ! भन्ने उपाधि सार्थक छन् ।
२०४६ सालको जनआन्दोलनमा भूमिका
२०४६ साल माघ ५, ६ र ७ गते काठमाडौँको क्षेत्रपाटीस्थित आफ्नै निवासमा आयोजित नेपाली कांग्रेसको सम्मेलनद्वारा जनआन्दोलनको घोषणा गरे । फागुन ७ गते प्रारम्भ भएको ऐतिहासिक जनआन्दोलनको नेतृत्व सम्हालेका सर्वोच्च कमाण्डर सिंहलाई ६ वामपन्थी पार्टीहरूको संयुक्त मोर्चाले समेत साथ दिएको थियो । तर आन्दोलनको क्रममा उनलाई घरमै नजरबन्द गरियो । गम्भीररूपमा अस्वस्थ्य भएपछि अस्पताल भर्ना भएका सिंहलाई अस्पतालमै नजरबन्द गरियो ।
जनआन्दोलनको सफलतास्वरूप दलहरूमाथिको प्रतिबन्ध फुकुवा (२०४६ साल चैत्र २६ गते) भएपछि २०४६ चैत्र २७ गते काठमाडौँको टुँडिखेलमा आयोजित विशाल जनसभामा ऐतिहासिक सम्बोधन गर्ने सिंहलाई ‘फादर अफ डेमोक्रेसी’को रूपमा सम्मानित गरियो ।
जनआन्दोलनपछिको अन्तरिम सरकारको (२०४७ साल वैशाख) प्रधानमन्त्री पद लिन राजा वीरेन्द्रले आग्रह गर्दा सिंहले अस्वीकार गरे । नेपाल तथा विश्वमै मानवाधिकार र शान्ति स्थापनाका निम्ति नेतृत्वदायी भूमिका निर्वाह गरेवापत सम्मानस्वरूप अमेरिकाबाट पिसरन पुरस्कार–१९९० तथा मानवाधिकार पुरस्कार–१९९३ एवम् संयुक्त राष्ट्र सङ्घका भूतपूर्व महासचिव ऊ थान्तको नाममा स्थापित ‘ऊ थान्त शान्ति पुरस्कार’बाट उनी सम्मानित भए ।
२०४९ सालमा नेपाली कांग्रेसको झापामा सम्पन्न आठौँ महाधिवेशनमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग उनको मतभेद हुन पुग्यो । २०५१ भदौमा उनले नेपाली कांग्रेस छाडे तर कांग्रेसले उनलाई कहिल्यै छाडेन । २०५१ सालमा नेपाली कांग्रेसको पोखरा महासमितिको बैठकमा उनलाई पार्टीको सर्वोच्च नेता कायमै रहेको घोषणा गरियो । २०५३ साल वैशाखको नेपाली कांग्रेसको नवौँ अधिवेशनमा अनुपस्थित रहेपनि उनलाई महाधिवेशनले पार्टी सर्वोच्च नेताको उच्च सम्मान प्रदान गरिनै रह्यो ।
गणेशमानको निधन ८२ वर्षको उमेरमा २०५४ साल असोज २ गते भयो । स्व. सिंहका दुई छोरा प्रदीपमान सिंह र प्रकाशमान सिंह तथा तीन छोरी डा. मीना सिंह, कान्ता मानन्धर र रिता वैद्य छन् । काठमाडौँ महानगरका पूर्व नगरप्रमुख पीएल सिंह भने नेता सिंहका धर्मपुत्र हुन् । उनलाई लौहपुरुष, फादर अफ डेमोक्रेसी, सर्वमान्य नेता, वीर गणेशमान, वरिष्ठ प्रजातन्त्रवादी नेता, नेपाली जनक्रान्तिका महान योद्धा, २०४६ सालको ऐतिहासिक जनआन्दोलनका कमाण्डर सर्वोच्च नेता आदि उपनामले चिनिन्छ ।
गणेशमानको सफलतामा मंगलादेवी सिंहको भूमिका
नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको जन्म वि.सं. १९८१ मा काठमाडौंको न्हैकन्तलामा भएको हो । वि.सं. १९९७ असार महिनामा उनको विवाह गणेशमान सिंहसँग भयो । वि.सं. १९९७ कात्तिकमा प्रजापरिषद् काण्डमा परि गणेशमान सिंहलाई जन्मकैद भएपछि श्रीमती सिंह जहानियाँ राणाशासन विरोधी आन्दोलनमा सक्रिय भइन् । २००४ सालमा उनी काठमाडौं म्हैपीमा भूमिगत सङ्गठनको रूपमा नेपाल महिला संघको स्थापना गरी आजन्म अध्यक्ष रहिन् ।
विसं २००५ सालमा पद्मशमशेरद्वारा गरिएको सुधारप्रति असन्तोष प्रकट गर्दै उनी महिलाहरूको जुलुस लिएर राणाहरूको दरबार पुगेकी थिइन् । सिंहले २००७ सालको क्रान्तिमा पनि ठूलो भूमिका निर्वाह गरिन् । श्रीमती सिंहलाई २०१७ सालमा संसदीय व्यवस्थाको अपहरण भएपछि विरोध गर्दा पक्राउ गरी ५ वर्ष कैद गरियो । २०२५ सालपछि ८ वर्ष प्रवासमा रहिन् ।
२०४२ सालमा सत्याग्रह र २०४६ सालको आन्दोलनमा उनी सक्रिय रहेकी थिइन् । २०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी पराजित भइन् । उनले ‘नारी संघर्षका पाइलाहरू’ नामक संस्मरणात्मक पुस्तक लेखेकी छिन् । २ छोरा र ३ छोरीकी आमा श्रीमती सिंहको २०५३ साल भदौ १० गते निधन भएको थियो । उनकै सहयोग र त्यागले गणेशमानले राजनीतिक सफलता पाएका थिए ।