आर्थिक विकासका लागि भौतिक पूर्वाधारको विकास अपरिहार्यः अध्यक्ष दाहाल

NLG INSURANCE

काठमाडौँ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको समग्र आर्थिक विकासका लागि भौतिक पूर्वाधारको विकास अपरिहार्य रहेको बताउनुभएको छ ।

NECO
नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसङ्घको संयुक्त आयोजना तथा लगानी बोर्डको कार्यालय र नेपाली युवा निर्माण व्यवसायी समुदाय (वाइसिएनसी) को सहआयोजनामा आयोजित नेपाल पूर्वाधार सम्मेलनको समापनमा बोल्दै उहाँले भौतिक पूर्वाधारको महत्वको विषयमा प्रकाश पार्नुभएको हो ।

पाँचौँ संस्करणको नेपाल पूर्वाधार सम्मेलनको समापन समारोहमा उहाँले नेपाल सरकारले केही समय अगाडि आयोजना गरेको लगानी सम्मेलनका बेला केही कानुनहरुमा सुधार गरी लगानीका लागि उपयुक्त वातावरण बनाएको उल्लेख गर्दै पूर्वाधार सम्मेलनमा प्राप्त सुझाव महत्वपूर्ण हुने बताउनुभयो । सम्मेलनमा प्राप्त सुझावलाई सरकारले ग्रहण गरी सोही अनुरूप सुधार गर्ने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो । नेपाल उद्योग परिसङ्घले समग्र आर्थिक विकासका लागि रचनात्मक भूमिका खेल्दै आएको उल्लेख गर्दै उहाँले पूर्वाधार सम्मेलन त्यसैको निरन्तरताका रुपमा लिएको बताउनुभयो ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले सम्मेलनमा दिगो पूर्वाधार अभ्यासदेखि नवीन वित्तीय मोडेलसहित पूर्वाधार विकासमा प्रादेशिक र स्थानीय सरकारको भूमिकाका विषयमा गहनरुपमा छलफल भएको जानकारी दिनुभयो । मुलुकको दिगो विकासलाई अघि बढाउन रणनीतिक लगानीको महत्वका विषयमा आएका सुझावहरु सरकारलाई उपलब्ध गराउने उहाँले बताउनुभयो । सम्मेलनमा पूर्वाधार विकासका मोडलहरु, नेपालमा लागू गर्न सकिने व्यवहारिक पक्षको पहिचान तथा पूर्वाधार परियोजनाहरू आर्थिकरूपमा मात्र नभई सामाजिक र वातावरणीयरूपमा पनि दिगो छन् भनी सुनिश्चित गर्न चाल्नुपर्ने कदमहरूबारे सुझाव प्राप्त भएको उहाँको भनाइ छ ।

समापन समारोहमा नेपाल उद्योग परिसङ्घका ‘प्रेसिडेन्ट एमेरिटस्’ विनोद चौधरी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मालगायतले पूर्वाधार सम्मेलनले पूर्वाधार विकासका लागि नेपालले ध्यान दिनुपर्ने विषयहरुमा विदेशी एवं स्वदेशी विज्ञहरुबाट महत्वपूर्ण सुझाव प्राप्त भएको बताउनुभयो । सचिव शर्माले यस सम्मेलनमा आएका सुझावहरुलाई सरकारले ग्रहण गर्दै कार्यान्वयनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।