काठमाडाैं । नेपाली हिन्दू नारीहरुको महान पर्व हरितालिका तीज आजबाट प्रारम्भ भएको छ ।
चार दिने तीज पर्वको पहिलो दिन आज दर खाइन्छ । तीजको व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दू नारीहरुले दर खाने परम्परा छ ।
तीजमा माइतीले छोरीचेलीलाई घरमा बोलाएर मीठामीठा परिकार खुवाउने चलन छ । दरमा खीर, ढकने वा सेलरोटी, केरा आदि अथवा ठाउँ अनुसार विभिन्न मिठामिठा परिकार खाने गरिन्छ।
सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन छ। भोलिपल्ट दिनभर पानीसम्म नपिई निराहार बस्नुपर्ने भएकाले दर खाने दिन राति ढिलासम्म बसेर पौष्टिक तत्व भएका खानेकुरा खाने प्रचलन बसेको हो । तर नेपाल पञ्चांग निर्णायक समितिका अनुसार भने शास्त्रीयरुपमा तीजमा निराहार व्रत बस्ने विधान छैन ।
परापूर्वकालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ अविवाहिताले राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तीज पर्व मनाउने चलन छ ।