शिक्षा ऐन छिट्टै ल्याउँछौँः शिक्षामन्त्री भट्टराई

Kmc

कास्की । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सामुदायिक विद्यालयले प्रदान गर्दै आएको शिक्षालाई थप गुणस्तरीय बनाउन अब छिट्टै विद्यालय शिक्षा ऐन पारित गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

NLG InsuranceNECO
पोखरा–३३ कालिकास्थानस्थित सरस्वती टीका माध्यमिक विद्यालयको ६२औँ वार्षिकोत्सव तथा छात्रवृत्ति वितरण कार्यक्रमको आइतबार उद्घाटन गर्दै उनले सामुदायिक विद्यालय सुधारका लागि ल्याउन लागिएको ऐनमा संसदमा छलफल भइरहेको बताइन् ।

मन्त्री भट्टराईले विभिन्न चुनौतीको सामना गर्दै अगाडि बढेका सामुदायिक विद्यालयलाई थप व्यवस्थित र गुणस्तरीय शिक्षा प्रदान गर्न सक्ने थलोका रूपमा विकास गर्न आफूले विद्यालय शिक्षा ऐन ल्याउन मस्यौदा तयार गर्न लागेको जानकारीसमेत दिइन् । “विद्यालयलाई वर्गीकरण गरी धेरै विद्यार्थी रहेका विद्यालयमा लगानी बढाउने र स्मार्ट विद्यालयका रूपमा विकास गर्ने योजना शिक्षा मन्त्रालयको छ । हाल त्यसमा काम भइरहेको छ”, उनले भनिन्, “सङ्घ सरकारको उद्देश्य स्थानीय तहलाई बलियो बनाउँदै सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्नु हो । यसमा हामी सबै मिलेर अगाडि बढ्नुपर्छ ।”

केही सामुदायिक विद्यालयले माध्यामिक शिक्षा परीक्षा (एसइई) तथा उच्च माविको परीक्षामा उत्कृष्ट अङ्क ल्याई सफलता प्राप्त गरेको, पछिल्लो समय अभिभावकमा पनि सामुदायिक विद्यालयप्रतिको विश्वास बढ्दै गएको उल्लेख गर्दै मन्त्री भट्टराईले यो अवस्थामा थप सुधार ल्याउन जरुरी रहेको धारणा राखिन् । प्राविधिक शिक्षाका साथै पाठ्यक्रम र सिकाइको स्तर वृद्धि गरी अनलाइन प्रणालीमार्फत पढाइलाई विकास गर्न जरुरी रहेको उनको भनाइ थियो ।

त्यस अवसरमा विभिन्न अक्षयकोषको रकमबाट एसइई तथा उच्च माविको परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो । साथै मन्त्री भट्टराईले विद्यालय हाताभित्र निर्माण गरिएको प्रतीक्षालयको उद्घाटनसमेत गरेकी थिइन् ।