काभ्रे । श्रीकृष्ण जन्माष्टमीका अवसरमा आज काभ्रेकाे बनेपामा हजाराैं कन्याहरुकाे पूजा गरिएकाे छ । बनेपामा एक सय २२ वर्षअघि सुरु गरिएको ‘कन्यापूजा’ (रजस्वला नभएका १० वर्षमुनिका कन्यालाई) हरेक वर्ष यही दिन आयाेजना गरिँदै आइएको छ ।
आज मध्याह्नबाट सुरु भएकाे पूजामा बनेपाका करिब सात हजार कन्या पुजिने सनातन कन्या–पूजा प्रबन्ध समितिले जनाएको छ । यस्तै केही वर्षदेखि जिल्लाका विभिन्न स्थानमा पनि कन्या पूजालाई निरन्तरता दिन थालिएको छ । कन्या–पूजा बनेपा नगरको पुरानो बजारमा विसं १९५९ देखि वर्षैपिच्छे कृष्ण जन्माष्टमीका दिन गर्दै आइएको हो ।
यसदिन बनेपा नगरको भोलाखाँ टोलबाट लायकु दरबार तथा पुरानो बजार हुँदै चारदोबाटोसम्म सडकको दायाँबायाँ पेटीमा कन्या लस्करै बस्छन् । कन्यालाई पुज्न काठमाडौँ, भक्तपुर र ललितपुर तथा छिमेकी जिल्लाबाट पनि भक्तजनहरु आउने गरेका छन् ।
समितिका सदस्य प्रकाश कायस्थका अनुसार कन्यापूजामा समितिमार्फत एक सय ३५ जना भक्तजनले दानदक्षिणा तथा प्रसाद, स्वारी र मालपुवा, जेरी, बिस्कुट, छोकडा, काजु एवं विभिन्न प्रकारका मिठाई वितरण गर्दछन् । पूजामा सामेल प्रत्येक कन्याको टाउकोमा शुद्ध तोरीको तेल दलेर देवीसरह रातो टीका लगाइदिने प्रचलन पनि छ ।
रजस्वला नभएका तथा बेल–विवाह नगरिएका कन्यालाई पुज्ने व्यक्ति निरोगी भई ‘मनले चिताएको’ पुग्ने मान्यता रहि आएको छ । यस मान्यताका साथ पछिल्ला वर्षदेखि काभ्रेको नाला, पनौती, साँगा, दोलालघाटलगायत विभिन्न बजार तथा बस्तीमा कन्यालाई श्रीकृष्ण जन्माष्टमीको दिन पुज्दै आइएको हो । दश वर्षमुनिका कन्यालाई पुज्दा उनीहरूको स्वास्थ्य राम्रो हुने तथा पुज्ने व्यक्तिलाई समेत धर्म प्राप्त हुने जनविश्वास रहिआएको छ । यसकारण पनि कन्यालाई पुज्नेको ठूलो भीड हुने गर्दछ । सुरुका वर्षमा प्रचलनस्वरुप नेवार समुदायका रजस्वला नभएका कन्या मात्र पुजिँदै आइएकाे भए पनि केही वर्षयता भने सबै जातीका कन्याहरुकाे पूजा गरिन्छ । बनेपाका विभिन्न टाेलहरुमा यसरी गरियाे कन्या पूजा :
तस्बीरहरु : देवराज केसी