रोशीको सेरोफेरो : निगालेका रणबहादुर, जसले जिन्दगीका ५० वसन्त डोको बुनेरै खर्चिए

Kmc
  • ज्ञानमणि नेपाल कालोटोपी

काभ्रे । बेलैमा सरकारी जागिर खान पाएको भए उनले अहिले पेन्सन पकाएर रिटार्यर जीवन बिताइरहेका हुन्थे । तर ५० वर्षदेखि उनको हातमा निगालोका सामान छँदैछन्, यो पेशाले उनलाई छोडेको छैन ।

NLG InsuranceNECO
बिहानैदेखि उनी डोका बुनिरहेका हुन्छन् । उमेरले ७० वर्ष छुनै लाग्दा पनि निगालेका रणबहादुर मगरको डोका बुन्ने जोश उस्तै छ, जस्तो ५० वर्ष पहिले थियो । उनी निगालोबाट निर्माण गरिने सबैखाले सामानहरु बनाउँछन् । डोका, डाला, थुन्से, नाग्ला, ढक्की, घुम लगायतका सामान बनाउने र बेच्ने उनको पेशा नै हो ।

‘रोजगारीको अरु विकल्प छैन । गाउँमा प्रशस्तै निगालो पाइन्छ । जानेको काम भएकाले छोड्न सकिएन ।’ काभ्रेको रोशी गाउँपालिका–३, शिखरआम्बोटे, निगालेका रणबहादुरले भने । यस्ता सामान बनाउन उनलाई कसैले सिकाएको होइन । बाउबाजेले गरेको देखेर उनले पनि सिकेका हुन् । एउटा डोकोको त्यही ६ बिस (१२० रुपैंयाँ) जति आउँछ । अरु सामानको पनि त्यस्तै मूल्यमा बिक्री हुन्छ । किन्नका लागि व्यापारीहरु गाउँमै पुग्छन् । तर दुःख गरेअनुसार मूल्य भने उनले पाउँदैनन् । यही काम नगरे आम्दानीको अरु विकल्प पनि छैन । त्यही भएर बुढेसकालमा पनि रणबहादुर निगालोघारीमा पुग्छन् । निगालो काटेर छरितो बनाउँछन्, अनि आफूले जानेका सामान पनि बनाइरहेका हुन्छन् । ‘अब यो उमेरमा अरु के काम गर्नु र ? जानेकै यही हो, जहिलेसम्म सकिन्छ गर्छु ।’ मगरले भने ।

पछिल्लो पुस्ताले यो पेशा छोडिसकेका छन् । हुन त हिजोआजका युवाहरु कामका लागि भन्दै गाउँ छोडिरहेका छन् । गाउँमै भएकाहरु यस्तै परम्परागत पेशामा लागिरहेका छन् । निगालो गाउँमै उत्पादन हुने भएकाले उनीहरुलाई खासै समस्या भने छैन । तर दुःख गरेअनुसार मूल्य चाहिँ निकै कम भएको उनको गुनासो छ । रणबहादुर जस्तै निगालेका अरु पनि थुप्रै स्थानीयहरुले यही पेशा गरेका छन् । निगाले यस्तो गाउँ हो, जहाँका सबैजसोका बारीमा निगालो प्रशस्त पाइन्छ । धेरै निगालो हुने भएकाले नै यो गाउँको नाम पनि निगाले राखिएको स्थानीयहरु बताउँछन् । यही गाउँ हुँदै धार्मिक र पर्यटकीय गन्तव्य रोशीको ताराखसे पोखरी पुगिन्छ । त्यहाँबाट महाभारत जाने कच्ची सडक पनि बनाइएको छ । 

यहाँका गाउँहरु त्यति धेरै विकट भने होइनन्, यहाँ कच्ची नै भए पनि सडक पुगेको र सबैजसो घरमा विजुली वत्ती पुगेका छन् । गाउँमा खानेपानीको त समस्या नै छैन । तर पनि समस्या एउटै छ, रोजगारी र व्यवस्थित सडकको । यसको व्यवस्था भए यहाँका रणबहादुर जस्तै सयौं रणबहादुरहरुलाई सहज हुनेथियो ।

निगालोका अतिरिक्त परम्परागत खेती र तरकारी खेती पनि गरिरहेका उनीहरुलाई गाउँमै खुलेका ग्रामिण सडकहरुले निकै सहज बनाइदिएका छन् । उत्पादन गरेका सामान बजार पठाउन गाडी गाउँमै आउँछ तर वर्षायाममा सडक बिग्रने भएकाले त्यति भरपर्दो छैन । अब बाह्रै महिना सडक संचालन हुने गरि गाउँपालिकाले सडक निर्माणलाई प्राथमिकतामा राखेको पालिका अध्यक्ष दिनेश लामाले बताए । ‘यहाँका कृषि उत्पादनलाई बजार लैजान सडक नै महत्वपूर्ण हुने भएकाले हामी यसमा निकै संवेदनशील भएका छौं ।’ लामाले भने ।

तस्बीरहरु : ज्ञानमणि नेपाल कालोटोपी / न्युज हाउस नेपाल

र याे पनि पढाैं

यात्रा डायरी : पुग्नै पर्ने एक धार्मिक र पर्यटकीय गन्तव्य रोशीको ‘ताराखसे पोखरी’ (फाेटाेफिचर)