काठमाडाैं । वि.सं. २०४५ भदौ ५ गते बिहान ५ बजे पूर्वी नेपालको उदयपुर केन्द्रविन्दु रहेको शक्तिशाली भूकम्प गएको थियो । सो भूकम्पको मापन ६.६ रेक्टर स्केल रहेको थियो । यो भूकम्पले ४० सेकेण्ड पूरै नेपाल हल्लाएको थियो । यसमा ७२१ जनाले ज्यान गुमाएका थिए । याे शक्तिशाली भूकम्पमा परि ६५ हजार घरहरु ध्वस्त भएका थिए । तत्कालिन श्री ५ को सरकारले भूकम्पले भत्काएका घरहरु पुननिर्माणका लागि पूर्णक्षति भएका घरहरुलाई १० हजार रुपैंयाँ र आंशिक क्षति भएका घरहरुलाई ५ हजार रुपैंयाँ ऋण सहयोग गरेको थियो । पछि उक्त ऋणलाई अनुदान दिइएको थियो । आज साे भूकम्प गएकाे ३६ वर्ष पूरा भएकाे छ ।
नेपालमा बितेको एक शताब्दीभित्र ५ वटा ठूला र विनाशकारी भूकम्प गइसकेका छन् । जनधनको क्षतिका हिसाबले २०७२ वैशाख १२ गतेको भूकम्प सबैभन्दा विनाशकारी हो तर १९९० साल माघ २ गतेको भूकम्प त्योभन्दा निकै ठूलो हो ।
त्यसबाहेक २०४५ साल भदौ ५ गते गएको भूकम्पले पनि विशेषगरी नेपालको धरान शहरलाई गम्भीर क्षति पुर्याएको थियो । कम रेक्टर स्केलको भए पनि इपिसेन्टर नजिक घना आवादी भयो भने यसले ठूलो विनाश निम्त्याउन सक्छ भन्ने पनि ०४५ सालको भूकम्पले देखाएको छ।
त्यसयता धेरै भूकम्पहरु गए । ०७२ वैशाख १२ गते गएको विनासकारी भूकम्पले ०४५ सालको भूकम्पलाई बिर्साइदिएको छ । तर पनि सो भूकम्प नेपालको इतिहासमा धेरै क्षति भएको भूकम्पको रुपमा लेखिएको छ।
काठमाडौंदेखि पूर्वको क्षेत्रमा गएका ठूला भूकम्प मध्ये विसं १९९० माघ २ गतेको महाभूकम्प (८.४ रेक्टर), विसं २०४५ को उदयपुर केन्द्रविन्दु रहेको भूकम्प (६.६ रेक्टर) हुन् भने त्यसपछिका भूकम्पमा ०६८ असोज १ गते गएको भूकम्प (६.९ रेक्टर) पनि पर्छ ।
भूकम्पीय इतिहास अनुसार नेपालमा हरेक ७० देखि १ सय वर्षमा एक महाभूकम्प र हरेक ५० वर्षमा मध्यमखालको भूकम्प जाने गरेको पाइन्छ । नेपालमा वि.सं. १२८०, १३१२, १४०१, १७७१, १८३४, १८६५, १८८२, १८९०, १८९१, १९१४, १९२३, १९३८, १९९०, २०३७, २०४५, २०६८ र २०७२ सालमा ठूला भूकम्प गएको इतिहास छ। इतिहासविद्हरुले नेपालको इतिहासमा वि.सं. १२१८ को भूकम्पलाई अभिलेखमा रहेको पहिलो विनाशकारी भूकम्प मानेका छन् ।
२ माघ १९९० मा संखुवासभा जिल्लाको चैनपुर केन्द्र भएर गएको भूकम्प ८.४ रेक्टर स्केलको थियो। हालसम्म सबैभन्दा विनाशकारी भनेर यसै महाभूकम्पलाई लिइन्छ । सो भूकम्पमा नेपालमा मात्र तीन हजार आठ सय ५० पुरुष र चार हजार ६६९ महिला गरि जम्मा ८ हजार ५ सय १९ जनाको ज्यान गएको थियो । घर, विद्यालय, देवालय र पाटीपौवा तथा सार्वजनिक भवनसमेत दुई लाख सात हजार ४० वटा संरचना भत्किएको अभिलेख छ।
०६८ असोज १ गते गएको भूकम्प विसं २०४५ मा गएको भूकम्प भन्दा ठूलो हो, तर पनि यसले ०४५ सालको जस्तो ठूलो क्षति पुर्याएको पाइएन । ०७२ बैशाख १२ गते गएको ७.६ रेक्टरस्केलको भूकम्पमा परि करिव ९ हजार जनाले ज्यान गुमाए भने हजारौं घाइते भएका थिए । साेही वर्ष बैशाख २९ गते पनि ६.९ रेक्टर स्केलकाे भूकम्प गयाे । यी भूकम्पका पराकम्पन अझै पनि गइरहेका छन् । ०७२ वैशाख १२ गते गएको विनासकारी भूकम्पले ०४५ सालको भूकम्पलाई बिर्साइदिएको छ। यो भूकम्प नेपालको इतिहासमा धेरै क्षति भएको भूकम्पको रुपमा लेखिएको छ।
अझै पनि नेपालमा भूकम्प जान सक्नेछ। विशेषगरि पश्चिम नेपालमा यसअघि त्यति विनासकारी भूकम्प नगएकाले अब त्यस ठाउँमा ठूलो भूकम्प जान सक्ने विज्ञहरुले अनुमान गरेका छन्। यद्यपी प्राकृतिक प्रकोप कहाँ र कहिले जान्छ भन्नेमा भने यसै भन्न सकिने अवस्था रहँदैन।
र याे पनि पढाैं