गण्डकीमा एक हजार तीन सय ६९ जनामा डेङ्गु पुष्टि, कुन जिल्लामा कति सङ्क्रमित ?

Kmc

गण्डकी । गण्डकी प्रदेशमा डेङ्गु सङ्क्रमण बढ्दै गएको छ । शनिबारसम्म एक हजार तीन सय ६९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

NLG InsuranceNECO
सबैभन्दा बढी तनहुँमा पाँच सय ५२ जनामा डेङ्गुको सङ्क्रमण देखिएको निर्देशनालयका सूचना अधिकारी नवराज शर्माले जानकारी दिए । सङ्क्रमणबाट तनहुँको व्यास नगरपालिकाका ४८ वर्षीय एक पुरुषको साउन १० गते निधन भएको उनले बताए ।  

तनहुँपछि कास्की डेङ्गुबाट बढी प्रभावित छ । निर्देशनालयको तथ्याङ्क अनुसार कास्कीमा चार सय ८० जना सङ्क्रमण पुष्टि भएको छ । गत बुधबार मात्र कास्कीमा ४० जना डेङ्गु सङ्क्रमित भेटिएका थिए । यस्तै, गोरखामा एक सय ११, बागलुङमा ८६, पर्वतमा ६६, लमजुङमा ५५, म्याग्दीमा ४१, स्याङ्जामा ३६, नवलपुरमा ११ र मनाङमा एक जनामा सङ्क्रमण देखिएको निर्देशनालयका सूचना अधिकारी शर्माले बताए ।

असारयता डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको हो । अङ्ग्रेजी जुलाई महिनामा छ सय ४३ जना सङ्क्रमित भेटिएकामा अगष्टको दोस्रो साता नबित्दै चार सय ७४ जनामा डेङ्गुको सङ्क्रम पुष्टि भएको निर्देशनालयले जनाएको छ । गत जनवरीमा ७० जनामा डेङ्गुको सङ्क्रमण भएकामा त्यसयता घट्दै आएर जुन महिनामा ८७ बाट पुनः सङ्क्रमितको सङ्ख्या थपिँदै आएको हो ।  

स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीले असारदेखि कात्तिकसम्म डेङ्गु सङ्क्रमणको बढी जोखिम हुने बताए । उनले पछिल्लो समय प्रदेश राजधानी पोखरामा डेङ्गु तीव्ररुपमा फैलिएको बताए । “समयमा नियन्त्रण गर्न नसके डेङ्गुले भयावह रूप लिन सक्छ”, उनले भने, “डेङ्गुलाई सामान्य रूपले नसोचौँ, यसले ज्यानैसमेत लिएका घटना हामीकहाँ छन् ।”

डेङ्गु रोकथाम र नियन्त्रणका लागि सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्ने उनको भनाइ छ । यस रोगबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु सबैभन्दा उत्तम उपाय भएको प्रमुख नेपालीले बताए । उनले समयमा उपचार नभए डेङ्गुबाट बिरामीको मृत्युसमेत हुनसक्ने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरे ।

गत वर्ष कास्कीमा मात्र तीन हजार ६९ जनामा डेङ्गु सङ्क्रमण भएको थियो । तीमध्ये पोखरा महानगरपालिकामा दुई हजार आठ सय नौ जना थिए । सङ्क्रमण बढ्दै गएपछि पोखरा महानगरपालिकालगायत स्थानीय तहले डेङ्गु रोकथाम तथा नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरू गरेका छन्। पोखरा महानगरपालिकाभित्रका सबै सरकारी कार्यालयले हरेक शुक्रबार बिहान १० देखि साढे १० बजेसम्म ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । स्वास्थ्य संस्था र निकायले लामखुट्टेका सम्भावित बासस्थानको खोजी गरी नष्ट गर्ने अभियानमा सघाउन सबैलाई आग्रहसमेत गरेका छन् ।