मधेस प्रदेश सरकारले साक्षरता दर बढाउन विभिन्न विश्वविद्यालयसँग साझेदारी गर्ने

Kmc

जनकपुर । मधेस प्रदेश सरकारले प्रदेशको साक्षरता दर बढाउन विभिन्न विश्वविद्यालयसँग साझेदारी गर्ने तयारी गरेको छ । यसका लागि मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामस्थित राजर्षी जनक विश्वविद्यालयका पदाधिकारी र अन्य सरोकार भएकासँग पनि छलफल प्रारम्भ गरेको मुख्यमन्त्री सिंहको सचिवालयले जनाएको छ ।

NLG InsuranceNECO
गरिबी र अन्य समस्याका कारण शिक्षाबाट वञ्चित व्यक्तिलाई शिक्षाको पहुँचमा ल्याउन आवश्यक सहकार्यसहित अगाडि बढ्नुपर्नेमा मुख्यमन्त्री सिंहको जोड छ । “यहाँ अन्य प्रदेशको तुलनामा साक्षरता दर कम छ । त्यसैले साक्षरता अभियानलाई तीव्र तथा सघनरूपमा अगाडि बढाउनुपर्ने आवश्यकता छ । सरकारी तथा गैरसरकारी क्षेत्रसँग उपलब्ध जनशक्ति त्यसका लागि पर्याप्त हुँदैनन् । त्यसैले विश्वविद्यालयका विद्यार्थीलाई स्वयंसेवकका रूपमा परिचालन गरेर अगाडि बढ्न सकिन्छ । त्यसका लागि प्रारम्भिक छलफल आरम्भ गरेका छौँ”, मुख्यमन्त्रीलाई उद्धृत गर्दै सचिवालयले भनेको छ ।  

पछिल्लो जनगणना अनुसार मधेस प्रदेशमा सातै प्रदेशमध्ये सबैभन्दा कम ६३ दशमलव ५ प्रतिशत साक्षरता दर रहेको छ । देशमै सबैभन्दा कम साक्षरता भएका जिल्लामध्ये मधेस प्रदेशकै रौतहट, महोत्तरी, सर्लाही र बारा छन् ।