पशुपतिमा जारी कोटीहोम : अध्यात्मबाट विश्वलाई जोड्दै मण्डनदेउपुरकी ‘देवी प्रतिभा’

Kmc

काभ्रे । पशुपति क्षेत्र, वनकाली काठमाडौंमा यतिबेला पशुपति कोटीहोम तथा १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ २०८१ जारी छ । मानव सेवा फाउण्डेसन, नेपाललगायतका संस्थाद्वारा आयोजना गरिएको कोटीहोम महात्म्य तथा महायज्ञ साउन १ गतेबाट सुरु भएको हो । कोटीहोम महायज्ञ आगामी साउन ३२ गतेसम्म जारी रहने बताइएको छ ।

NLG InsuranceNECO
यस कोटीहोममा नेपालका साथै विदेशमा समेत ख्यातीप्राप्त ५ जना कथावाचकहरुले प्रवचन दिइरहेका छन् । जसमा राधिका दाशी, पं.दीनबन्धु पोखरेल र देवी प्रतिभा पनि रहेका छन् । यी मध्ये काभ्रे जिल्लामा जन्मिएर छोटो समयमै भारतका विभिन्न प्रान्तहरुमा करिब एक दशकदेखि आध्यात्मिक प्रवचन दिइरहेकी छिन् प्रतिभा पराजुली अर्थात् देवी प्रतिभाले ।

मण्डनदेउपुर नगरपालिका वडा नम्बर–१० ज्वानेटारमा जन्मिएकी प्रतिभा पराजुली सानैदेखि आध्यात्मिक सोचका साथ अघि बढिन् । बुवा साधुराम पराजुली र आमा इन्दिरा पराजुलीकी माइली छोरी हुन् उनी । २३ वर्षको उमेरमै उनी अहिले यति धेरै व्यस्त छिन् की उनको कथा सुन्नका लागि समय मिलाउनै कठिन छ । अहिले उनले २०२६ सम्म आफ्नो समय तालिका मिलाइसकेकी छिन् । सामाजिक संजाल फेसबुक र युट्युवमा उनलाई पछ्याउनेहरु लाखौं छन् । भारतका हजारौं प्रवचकहरुमध्ये उनी उत्कृष्ट तीन बाचिकाहरुमा पर्छिन् ।

संस्कृत व्याकरणमा आचार्यसम्मको अध्ययन गरेकी प्रतिभाले गीतसंगीतमा पनि निपूर्णता पाएकी छिन् । सुमधुर स्वरकी धनी प्रतिभाको अहिले एउटा राष्ट्रसेवा नामक ट्रष्ट पनि रहेको छ । पछिल्लो पुस्ता धर्म र अध्यात्मबाट अलग हुन खोजीरहेका छन् तर प्रतिभा भने सानैदेखि आफूलाई पण्डित बन्ने सोच राख्थिन् । उनका जिजुबुबा पं. दिवाकर पराजुली, हजुरबुबा पं भरतमणि पराजुली काभ्रे र सिन्धुपाल्चोकमा नाम कहलिएका पण्डित थिए । हजुरबुबाको माया त उनले पाइनन् तर पितृआर्शिवाद भने मिलेको उनको भनाइ छ । उनको परिवारमा संयोग के छ भने जिजुबुबा र हजुरबुबा पनि माइला भाइ थिए । उनका बुबा साधुराम पराजुली पनि माइला र उनी स्वयं पनि माइली छोरी हुन् ।

साधारण शिक्षा उनले बनेपाको पञ्चकुमारी बोर्डिङ स्कुलबाट लिएकी हुन् । पछि गाउँकै नवप्रतिभा बोर्डिङ स्कुलमा केही समय अध्ययन गरिन् । पढाइको शिलशिलामा काठमाडौंको बाल्मिकी विद्यापिठमा पनि केही समय अध्ययन गरिन् । तर पछिल्लो एक दशकदेखि उनी भारतको बृन्दावनमा अध्ययनकै शिलशिलामा पुगिन् र उतैबाट यसक्षेत्रमा प्रवेश गरेकी हुन् । यो अवधिमा सयौं ठाउँमा उनले प्रवचन दिइसकेकी छिन् । आगामी दिनमा पनि यसैलाई निरन्तरता दिने उनको सोच छ । कथा वाचनको शिलशिलामा सात वर्षपछि नेपाल आएकी प्रतिभालाई आफू अध्यात्म क्षेत्रमै काम गर्नको लागि जन्मिएको जस्तो लाग्छ ।

यतिबेला जहाँ जहाँ कार्यक्रम हुन्छ उनलाई पछ्याउनेहरुको अत्याधिक भीड लाग्छ । त्यसैले दर्जनभन्दा बढी सुरक्षाकर्मीले उनलाई सुरक्षा दिइरहेका हुन्छन् । सुरक्षाकर्मी, भजन मण्डलीलगायत उनको करिब ५० जनाको टिम छ । अहिले त्यही टिमका साथ प्रतिभा आफ्नो प्रतिभा प्रस्तुत गरिरहेकी छिन् ।

धर्म मानवलाई नियममा बाँध्ने एउटा सुत्र भएको उनको अनुभव छ । सेवाभावले जनजनमा धार्मिक गतिविधी प्रचार गर्न सकियोस् भनेर आफू यसक्षेत्रमा लागेको उनको भनाइ छ । भारतका हरेक कार्यक्रममा नेपालका धार्मिक गतिविधीहरुको प्रचारमा लागिरहेको बताउने प्रतिभालाई यो क्षेत्रमा लाग्न शुरुमा निकै गाह्रो भएको थियो । उनको रुचीअनुसार पढाइ दिलाउन परिवारले धेरै दुःख गर्नुपरेको थियो । बाबाआमाले आफूलाई यहाँ पुर्याउन निकै दुःख गर्नुभएको उनको अनुभव छ । ‘पत्थरले पनि मुर्तिको आकार पाउन निकै चोट खानुपर्छ, मेरो जीवनमा पनि यस्ता समस्या आए । म ती दिनहरु भुल्न सक्दिनँ ।’ उनी भन्छिन् ।

भागवत पढ्न ६ महिनामै सिकेको उनको अनुभव छ । भविष्यलाई कसैले पनि देख्न सकिँदैन, गृहस्थ जीवनमा बसेरै पनि भगवानलाई प्राप्ती गर्न सकिन्छ भन्ने मान्यता राख्ने प्रतिभा आज जे छ, भोलि जे आउँछ, स्वीकार गर्न सक्नु नै महानता भएको बताउँछिन् । ‘धर्म भनेको सत्यता, पवित्रता हो । जुन धारण गर्न सकिन्छ त्यही धर्म हो ।’ उनी भन्छिन् । प्रेमलाई पवित्रता, विवाह बन्धन र जीवन जीउने माध्यम तथा सम्बन्ध विच्छेद र आत्महत्यालाई महापाप मान्ने उनी केही वस्तु गुमाउनु परे पनि यसलाई स्वीकार गर्न सक्नु पर्ने बताउँछिन् ।

छोरी सानैदेखि अलि जिद्दी स्वभावकी थिइन : पिता
आफ्ना छोराछोरीले प्रगति गरेको देख्दा को बाबुआमा होला र, जो खुशी नहोस् ? उनको परिवारमा पनि यस्तै भएको छ । प्रतिभाका पिता साधुराम पराजुलीका अनुसार उनी बच्चैदेखि धार्मिक स्वभावकी थिइन् । परिवारमा अलि जिद्दी स्वभाव पनि उनको थियो । तर उनको जिद्दी नराम्रो कामका लागि भने हुँदैनथ्यो । प्रतिभाले सानैमा भनेको कुरा बुबालाई अहिले पनि याद छ । उनले भनेकी थिइन् रे, ‘म एकदिन बाबाआमालाई एकापटी कुर्सिमा राखेर आफैंले श्रीमद्भागवत वाचन गरेर देखाउँछु ।’ उनको यो कुराले बुबालाई अचम्म त लाग्थ्यो तर कसरी यो पूरा होला भनेर चिन्ता पनि लाग्थ्यो । भगवानले तँ आँट म पुर्याउँछु भन्छन् रे । यस्तै भयो प्रतिभाको लागि पनि । जसले गर्दा शुरुमा केही दुःख त भयो तर अब उनको भविष्यका लागि बुबाआमाले धेरै चिन्ता गर्नुपर्ने अवस्था छैन । आफैंले एउटा बाटो समाएकी छिन् , अरुलाई पनि प्रेरणा दिएकी छिन् । देशविदेशमा नाम कमाएकी छिन् ।

                         प्रतिभाका माता इन्दिरा पराजुली र बुबा साधुराम । 


                     प्रतिभाका हजुरबुबा पण्डित स्वर्गिय भरतमणि पराजुली । 

                        प्रतिभाका बुबा साधुराम पराजुली । 

‘मानिसले मनभित्रैदेखि चाहेको कुरा ढिलोचाँडो पूरा हुने रहेछ ।’ साधुरामले भने, ‘हामीले उनको इच्छाविपरित अरु नै क्षेत्रमा लगाउन खोजेको भए शायद उनी आज यो ठाउँमा पुग्न सक्दैनथिन् की जस्तो लाग्छ । उनी अहिले हाम्री छोरी मात्र होइन, मण्डनदेउपुरकी छोरी, काभ्रेकी सान र देशकै एउटा नाम जस्तै प्रतिभा भएकोमा निकै खुशी छु ।’

(पत्रकार ज्ञानमणि नेपाल कालाेटाेपीले प्रतिभाका बुबा साधुराम पराजुलीसँग गरिएकाे कुराकानीमा आधारित रिपाेर्ट)

याे पनि पढ्नुहाेस् 

सरकारी बेवास्ताको एउटा गतिलो उदाहरण, पनौतीको ‘रेशम विकास केन्द्र’ (फाेटाेफिचर)