‘साहित्य विकासमा राज्यको सहयोग आवश्यक’

Kmc

तनहुँ । साहित्यको विकासमा राज्यको सहयोग हुनुपर्ने साहित्यकारहरुको जोड रहेको छ ।

NLG InsuranceNECO
दोस्रो राष्ट्रिय लेखक दिवसका अवसरमा नेपाली लेखक सङ्घ तनहुँले आज दमौलीमा आयोजना गरेको कार्यक्रमका सहभागी साहित्यकारहरुले साहित्यको विकासमा राज्यको सबै तहबाट सहयोग हुनुपर्नेमा जोड दिएका हुन् ।

साहित्यले जहिल्यै सुशासन कायम गर्न र बेथितिविरुद्ध आवाज उठाउने भएकाले राज्यको प्राथमिकतामा पर्न नसकेको महसुस भएको साहित्यकार काशिनाथ न्यौपानेले बताए ।

“जहाँ पुग्दैनन् रवि, त्यहाँ पुग्छन् कवि भन्ने गरिन्छ,” न्यौपानेले भने, “राज्यको सहयोग भुइँतहका  मान्छेलाई हुनुपर्छ भनेर हामीले सृजनाबाट भन्ने गर्छौं । त्यसैले राज्यले साहित्यको विकासमा सहयोग गर्नु आवश्यक छ ।”

साहित्यको विकास स्थानीय तहदेखि सङ्घीय सरकारसम्मको प्राथमिकतामा नपर्नु दुःखद भएको साहित्यकार देव बस्न्यातल गुनासो गरे ।

कार्यक्रममा साहित्यकारहरु डा लक्ष्मीकान्त चापागाईं, गौकुमारी न्यौपाने, डा रघुनाथ न्यौपाने, भवानी खनाललगायतले रचनावाचन गरेका थिए । साहित्यको विकासका लागि बेलाबेलामा विविध कार्यक्रम आयोजना गर्ने गरेको नेपाली लेखक सङ्घ तनहुँका अध्यक्ष शङ्करराज नहर्कीले जानकारी दिए ।

कार्यक्रममा नेपाली लेखक सङ्घ तनहुँका संस्थापक अध्यक्ष कमलामोहन वाग्लेलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको थियो ।