सन्दर्भ १४ औं स्मृति दिवस : 'गिरिजाप्रसाद' जसलाई राजनीतिक संकटका बेला धेरैले सम्झिन्छन्

Kmc
  • ज्ञानमणि नेपाल कालोटोपी

काठमाडौँ । हरेक राजनीतिक पार्टीका आ–आफ्नै इतिहास छन् । इतिहास बनाउन व्यक्ति चाहिन्छ । नेपालको इतिहासमा नेपाली कांग्रेस पुरानो पार्टी हो । स्थापनादेखि अहिलेसम्मको इतिहास हेर्ने हो भने सबैभन्दा धेरै समय सत्तामा रहने पार्टी नेपाली कांग्रेस नै हो ।

NLG InsuranceNECO
आफू सत्तामा रहँदा कांग्रेसले के गर्न सक्यो वा सकेन, इतिहास साक्षी छ । जतिबेला कांग्रेसको जन्म भयो, आजका दिनसम्म आइपुग्दा धेरैले नेतृत्व पनि गरे । ती सबै नेतृत्व गर्नेहरु सक्षम भए त ? अनि आजको कांग्रेसले हिजो योगदान गर्ने नेतृत्वहरुलाई बिर्सिएकै हो त ? आज हामी कांग्रेसका ती दिवंगत नेतृत्वलाई सम्झँदैछौं, जसको कांग्रेसमा अझै अभाव छ र, रहन्छ सधैंसधैं। उनी हुन्– गिरिजाप्रसाद कोइराला । उनकाे आज १४ औं स्मृति दिवस हाे ।

गिरिजाप्रसाद (जिपी) कोइरालाको जन्म १९८१ साल असार १८ गते भएको थियो । कृष्णप्रसाद कोइरालाका तीन छोराहरु मातृकाप्रसाद, विश्वेश्वरप्रसाद र गिरिजाप्रसादमध्ये उनी कान्छा हुन् । दाजुहरुको प्रेरणाले राजनीतिमा प्रवेश गरेका गिरिजाप्रसाद सानैदेखि निडर र हक्की स्वभावका थिए ।

नेपाली कांग्रेसका पाँचौं सभापति थिए, उनी । २०४८ साल जेठ १२ देखि २०५१ साल मंसिर १४, २०५५ साल वैशाख २ देखि २०५६ साल जेठ १७ सम्म, २०५६ साल चैत ९ देखि २०५८ साल साउन ११ र २०६५ साल जेठ १५ देखि २०६५ साल भदौ २ सम्म गरी कोइराला चार पटक नेपालका प्रधानमन्त्री भएका थिए ।

उनी नेपाली कांग्रेसका सभापति र तत्कालीन सात राजनीतिक दलहरूको मोर्चाका नेता थिए । उनी ६० वर्षभन्दा धेरै समयदेखि राजनीतिमा संलग्न भएका थिए । उनले आफ्नो राजनीतिक जीवनको सुरुआत, आफ्नो गृहनगर विराटनगरको जुट मिलका श्रमिक नेताको रूपमा सुरु गरेका थिए ।

नेपालमा २०५२ सालदेखि तत्कालीन माओवादीले सुरु गरेको जनयुद्धलाई शान्तिपूर्ण अवतरण गराउने श्रेय कोइरालालाई छ । उनले २०६३ साल मंसिर ५ गते माओवादीका तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग विस्तृत शान्ति सम्झौता गरेपछि नेपालमा जनयुद्धको विधिवत अन्त्य भयो र, गणतन्त्रको बिउ रोपिएको हो ।

सशस्त्र युद्धमा रहेको तत्कालीन नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गिरिजाप्रसादले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । राजनीतिक जीवनमा कोइरालाले पार्टीभित्र र राष्ट्रिय राजनीतिका विषयमा लिने अडान र निर्णयबारे विरोधसमेत हुने गरेको थियो ।

तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको दस वर्षे हिंसात्मक आन्दोलनलाई औपचारिकरुपमा अन्त्य गर्न विस्तृत शान्ति सम्झौतामा २०६३ साल मंसिर ५ गते सरकारका तर्फबाट तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र विद्रोही नेकपा माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहालले हस्ताक्षर गरेका थिए । शान्ति सम्झौतामा देशमा जारी हिंसात्मक आन्दोलन अन्त्य गर्दै मुलुकलाई शान्तिपूर्ण बाटोमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

उक्त सम्झौतामा सेना समायोजन तथा हतियार व्यवस्थापन, संविधानसभा चुनाव र संक्रमणकालीन न्याय टुंगोमा पुर्याउने विषयलाई प्राथमिकता दिइएको थियो । शान्ति सम्झौताले प्राथमिकतामा राखेका विषय नेपालका लागि त महत्वपूर्ण थियो नै अन्तर्राष्ट्रिय समुदायले पनि यसलाई चासोका साथ हेरेको थियो ।

सेना समायोजन भइसकेको छ । जनताद्वारा निर्वाचित संविधानसभाले बनाएको संविधान पनि कार्यान्वयनमा आइसकेको छ । तर, संक्रमणकालीन न्यायको काम भने हुन सकेको छैन । संक्रमणकालीन न्यायको कार्यभार टुंग्याउन अझै कति वर्ष लाग्ने हो भन्न सक्ने अवस्था छैन । द्वन्द्वपीडितलाई न्याय दिन र संक्रमणकाल अन्त्यका लागि ६ महिनाभित्र संक्रमणकालीन न्याय संयन्त्र गठन गर्ने उल्लेख शान्ति सम्झौतामा थियो ।

सम्झौतामा हस्ताक्षर गर्ने मध्येका एक कोइरालाको निधन भए पनि अर्का हस्ताक्षरकर्ता प्रचण्ड अहिले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष र प्रधानमन्त्रीको भूमिकामा छन् । बेलाबेलामा प्रचण्डले अहिले पनि विभिन्न सम्बोधनमा गिरिजाप्रसादसँग भएका तत्कालीन सम्झौताका पानाहरू पल्टाउने गरेका छन् ।  तर, कार्यान्वयनमा भने उनी चुकेका छन् । त्यतिबेलाको सम्झौताअनुसार संक्रमणकालीन न्याय संयन्त्र गठन हुन नसक्दा पीडितले अहिलेसम्म न्याय पाउन सकेका छैनन् ।

२०६६ साल चैत ७ गते गिरिजाप्रसाद कोइरालाको निधन भयो । गिरिजाप्रसादकी पत्नी सुष्मा कोइरालाको त्यसअघि नै निधन भइसकेको थियो । नेपाली कांग्रेसमा मात्र होइन, नेपाली राजनीतिमा गिरिजाप्रसादको अभाव सधैं रहनेछ भने नेपाली कांग्रेसले अब उनीजस्ता सभापति पाउन निकै कठिन छ ।