रहेनन् पुराना फिल्मका निर्देशक सुब्बा

काठमाडौँ । नेपाली सिनेमा जगतका एक खम्बा तथा फिल्म ‘परालको आगो’ लगायत करिब दर्जन फिल्मका निर्देशक प्रताप सुब्बा अब हामीबीच रहेनन् ।  सुब्बाको आज बिहीबार ७८ वर्षको उमेरमा भारतमा मुत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनी लामो समयदेखि बिरामी रहेका थिए ।

बाँच्न चाहनेहरु, मसाल, कहीँ अँध्यारो कहीँ उज्यालो, दिदी, चट्याङ, भीष्म प्रतिज्ञा लगायतका फिल्म निर्देशन गरेका सुब्बाले बिसं २०३५ मा ‘परालको आगो’बाट निर्देशन थालेका थिए । उनी नेपाली मुलमा भारतीय निर्देशक समेत थिए ।

थुप्रै टेलिफिल्म समेत निर्देशन गरेका उनी फिल्म ‘चट्याङ’का पट्कथा लेखक पनि हुन् । उनले डायमण्ड एक्टिङ इन्स्टिच्युट, सिने युनिभर्स खोलेर थुप्रै प्राविधिक समेत जन्माएका छन् । सुब्बाको निधन प्रति कलाकर्मीले सामाजिक संजाल मार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।